जीवन तामाङ
खानीखोला, काभ्रे : शान्ति तथा अहिंसाको प्रार्थना गर्दै काभ्रेपलाञ्चोकसहित पाँच जिल्लाका बौद्ध धर्मावलम्बी लामा जिल्लाको खानीखोला गाउँपालिका-५, तालढुङ्गामा विगत ४५ दिनदेखि बस्दै आएको गुफा (कुन्छाम्) सम्पन्न भएका छन्।
खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा मङ्सिर २५ देखि करिब एक सय ५० जना लामाहरु गुफा (कुन्छाम्) बसेका हुन्। संस्थाका अध्यक्ष वीरबहादुर वाइबाले शान्ति र अहिंसाको प्रार्थनाका लागि लामा गुफा बसेको बताउनुभयो ।
उहाँले गुफामा काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक जिल्लाका करिब एक सय लामा सहभागी रहेको बताउनुभयो। उहाँले लामागुरु सेराप ग्याल्छेनबाट ‘थुन सुरु भएसँगै गुफा प्रारम्भ भएको बताउदै लामाहरू माघ १० गतेसम्म गुफा बसेको बताउनुभयो । “शान्ति र अहिंसाको प्रार्थनासँगै धार्मिक तथा सांस्कृतिक सम्बन्धको विकास गर्ने हेतुले लामालाई गुफामा बुद्धिस्ट ज्ञानसहित सङ्गठित बनाउने विषयमा प्रशिक्षण दिने काम भएको छ,” अध्यक्ष वीरबहादुर लामाले थप्नुभयो । उहाँले तामाङ समुदायमा पछिल्लो समय ‘लामा’ पढ्नेको सङ्ख्या कम हुँदै गएकाले गुफामार्फत लामा पठनपाठन र जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेको बताउनुभयो ।”
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले पाँच जिल्लाका लामा कुन्छाम् बसेसँगै खानीखोलाभित्र धार्मिक पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाभित्र धार्मिक पर्यटनको विकास गर्न गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम अधि बढाएको बताउनुभयो । कार्यक्रम गाउँपालिका अध्यक्ष थिङले लामाहरुको गुम्बा निर्माणको लागि स्थानीय तहसँगै प्रदेश र संघीय सरकारमार्फत भए पनि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष थिङले अर्को पटक लामाहरु कुनै खुल्ला आकाश मुनि नभई आफ्नै गुम्बा बस्न पाउने समेत बताए । उनले गाउँपालिका सबै धर्म र संस्कृतिको जगेर्ना लागि परेको बताउदै केही समय अघि हिन्दुहरुको श्री भागवत महायज्ञ, मगर र गुरुङ समुदायको क्रमशः माघी संक्रान्ती र तमु ल्होछारको लागि समेत सहयोग गरेको र आउने ल्होछारको लागि पनि सहयोग हुने बताए । संस्थाका सचिव प्रेमबहादुर स्याङ्तानले कुन्छाम् मार्फत बौद्ध धर्मको प्रचारप्रसार, प्राणी तथा अप्राणी सत्त्वहरूको मुक्ति, अहिंसा र शान्तिमा योगदान पुग्ने जानकारी दिनुभयो ।
उहाँले कुन्छाम्मा ‘फो’ कक्षा लिने लामा ४० जना रहेको बताउनुभयो । उहाँले कुन्छाम्मा अहिंसा र शान्तिमा योगदान पुऱ्याउनुका साथै बौद्ध धर्म, कलासंस्कृतिको संरक्षण, संवर्धन र विकाससँगै समस्त लामाको हकहित, भाषा, लिपि, बुद्धको उपदेशका पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो एकरूपता र सरल पार्ने विषयमा बृहत् छलफल हुँदै आएको बताउनुभयो । प्रमुख धर्म गुरु सेराब ग्याल्छनद्वारा बौद्ध धर्म दर्शन, साहित्य, संस्कृती परम्परा एंव लिपीको संरक्षण, सम्वर्दन र विकास गर्दै गाउँ बस्तीमा पुऱ्याउने र सुसभ्य समाज निर्माण गर्ने उद्धेश्यले ४५ दिन सम्म सञ्चालन गरि जोगछयेन् चिदुईको क्यापडो, हिग्या, मेण्डल, लामे नलज्योर, सोलदेव, छिडुब, नाङडुब, साङडुब, याङ्साङ, लेशि र शिड्डुब पुजा विधि, क्यापडो, आमिदेवाही जप, हायङ्घ्रिपा, शिङ्क्योङ् छेडुब फोवा, नेलुङ पुजा विधि ध्यान साधनामा सहभागी लामाहरुलाई प्रमाणपत्रसहित सम्मान गरेको छ ।
त्यस्तै खाद्यवस्तु, नगद सहयोग गर्नेहरुलाई पनि सम्मान गरेको थियो । गुफाको अन्तिम दिन बुधबार लामा गुरुबाट वाङ माेलम थाप्न (शान्ति स्वस्ति) गर्न र दशा ग्रह फाल्न काभ्रेसँगै सिन्धुली र मकवानपुर, ललितपुर र सिन्धुपाल्चोकबाट गरि १ हजार १ सय बढि भक्तलुले उपस्थिति रहेका थिए । कार्यक्रममा खानीखोला-५ र ६ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान, बृहस्पति घिसिङ र महाभारत-१ वडा अध्यक्ष कान्छामान जिम्बा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।