काठमाडौँ : माओवादी जनयुद्धका क्रममा भएको मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरे घटनाको १८ वर्ष पुरा भएको छ । सो अवसरमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको उपस्थितिमा पूर्व पीएलएको भेला कार्यक्रम आयोजना गरिएको हो माओवादी सशस्त्र द्वन्दका समयमा भएको सो युद्धलाई अन्तिम युद्धको रूपमा पनि लिने गरेको छ ।
शान्ति सम्झौता पछि सो क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जितेका थिए भने २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा सो पालिकाको नेतृत्व पूर्व लडाकुको हातमा पुगेको छ । २ पटक बागमती गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका माओवादी केन्द्र मकवानपुरका संयोजक सर्केश घलानको योजनामा झुरझुरेलाई युद्ध पार्कको रूपमा विकास गर्ने कार्य भइरहेको छ ।
३५ जनाले ज्यान गुमाएको झुरझुरे भिडन्त
माओवादीले गरेको एकतर्फी युद्धविराम २०६२ पौष १८ गते भंग भएपछिको ठुलो भिडन्त हो फापरबारी (झुरझुरे) भिडन्त । १८ वर्ष अघिको माघ ८ गतेको साँझ झुरझुरेबासीको लागि निकै दुःखद रह्यो । २०६२ साल माघ ८ गते रात मकवानपुरको पुर्वी क्षेत्रमा रहेको तत्कालीन फापरबारी गाविस स्थित झुरझुरेको युद्धले ठुलो मानवीय क्षति गरायो । तत्कालीन शाही नेपाली सेना र माओवादीको जनमुक्ति सेनाबिचको दोहोरो भिडन्तमा ३५ जनाले ज्यान गुमाउनु परेको थियो ।
माओवादीतर्फ २६ जना, सेनाको तर्फबाट ६ र सर्वसाधारण ३ जना गरी ३५ जनाले ज्यान गुमाएका थिए । फापरबारी–१, थलीका ८३ वर्षका प्रतापसिंह बजू र वर्ष ३४ का मानबहादुर बजू भिडन्तमा लुक्ने क्रममा सुरक्षाकर्मीद्वारा चलाइएको गोलीको सिकार भएका थिए भने लम्कानाका ४ वर्षका रेशमबहादुर भोलान आफ्नो घरमा सुतिरहेको अवस्थामा हेलिकप्टरबाट खसालिइएको बमको छर्रा लागेर मृत्यु भएको थियो ।
दोहोरो भिडन्तमा माओवादी तर्फका २४ पुरुष र २ महिला सहित २६ जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मी तर्फका ५ सैनिक र एक प्रहरी सहित ६ जना गरी कुल ३५ जनाको मृत्यु भएको थियो । तत्कालीन फापरबारी गाविस वडा नम्बर–१ झुरझुरेमा २०६२ माघ ८ गते बेलुकी करिब ६ बजे देखि बिहान २ बजेसम्म भएको भिडन्त भएको थियो । सो भिडन्तमा शाही नेपाली सेनाबाट हवाई आक्रमण समेत भएको थियो ।
जसका कारण मुख्य भिडन्तस्थल भन्दा ४ किलोमिटर टाढा फापरबारी–१ लम्कनामा सुरक्षाकर्मीले हेलिकप्टरबाट प्रहार गरेको बमको छर्राले एक चार वर्षीय बालकको समेत मृत्यु भएको थियो । मुख्य स्थल झुरझुरेमा अर्का २ सर्वसाधारणको मृत्यु हुनुको साथै २ घर र एक गोठ जलेर नष्ट भएको थियो । कसरी भयो झुरझुरे भिडन्त ? हेटौंडामा अवस्थित कालिबहादुर गण, गौरी गुल्म गण र युनिफाइड कमान्ड अन्तर्गतका १५४ जना सुरक्षाकर्मीहरू २०६२ माघ ५ गते बिहान ३ बजे पैदल गस्तीमा थिए । माघ ६ गते हेटौँडाको हटिया र माघ ७ गते बकैयाको हात्तीसुंडे हुँदै माघ ८ गते फापरबारी–६ स्थित लोकहित माध्यमिक विद्यालयमा सुरक्षाकर्मीको टोली पुगेका थिए ।
सुरक्षाकर्मीको टोली सो विद्यालयमा पुग्दा दिउँसोको १२ः३० बजेको थियो । सोही विद्यालयमा सुरक्षाकर्मीहरूले खाना पकाएर खाएका थिए । उक्त स्थानबाट सुरक्षाकर्मीको टोलीले स्थानीय वर्ष ३२ का कृष्ण बहादुर माझीलाई गिरफ्तार गरे । माझीलाई करिब २ घण्टा पछि छोडिएको थियो । माझिलाई स्थानीय रेडक्रस संस्थाका उपाध्यक्ष तथा उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद घिमिरेको अनुरोध र रोहबरमा छाडिएको थियो ।
दिउँसो १ बजेको समयमा लोकहित माध्यमिक विद्यालयमा बसिरहेका सेनाहरूले माओवादीका ४/५ जना कार्यकर्ताहरूलाई फायरिङ गर्दै लखेटेको थियो । सो फायरिङमा मानवीय क्षति भने भएको थिएन । सेनाको फायरिङबाट फापरबारी–७ बजार क्षेत्रका बासिन्दाहरू आतङ्कित बने र पसलहरू बन्द गर्दै घरभित्र बसे । करिब ३ः३० बजे लोकहित माध्यमिक विद्यालय फापरबारीबाट सुरक्षाकर्मीको टोली थप अगाडि बढे । फापरबारी–५, राईटोल हुँदै करिब ५ः३० बजे साँझ सुरक्षाकर्मीहरू फापरबारी–१, दमारमा पुगे । दमारबाट सुरक्षाकर्मीहरू पूर्व तर्फ लागे । सुरक्षाकर्मीको टोली फापरबारी थली तर्फ छरिएर उक्लिएका थिए । बेलुकी ६ बजेतिर सुरक्षाकर्मीहरूले फापरबारी–१ थलीमा पुगेर ५ घरका वासिन्दाहरुलाई सोधखोज तथा खानतलासी गरे ।
माओवादी भएको आशङ्कामा खानतलासी गर्दा त्यहाँ केही भेटिएन । यता माघ ६ गते देखि नै थलीमा बसेका थिए । करिब २००/३०० हातहतियारसहितका माओवादीहरू उक्त थलीको दक्षिण तर्फको गाउँ तथा पश्चिम तिरको कान्लामा छरिएर लुकेका थिए । समय बेलुकी करिब ६ः१५ बजेको थियो । थलीमा गोली पड्कन सुरु भयो । गोली तथा बमको आवाजले त्यो क्षेत्रमा गुन्जयमान बन्यो । आतङ्क र भयबिच त्यस क्षेत्रका बासिन्दाहरू सुरक्षित स्थानको खोजीमा थिए । त्यहाँका स्थानीयहरूको रात बाँच्ने स्थान खोज्दाखोज्दै बित्यो । फापरबारीबाट शाही नेपाली सेनाको टोली साँझ झुरझुरे डाँडामा पुगेपछि आक्रमण सुरु भएको थियो । बेलुकी ६ः१५ देखि सुरु भएको लडाई राति २ बजेसम्म चलेको थियो । त्यस भिडन्तमा सेनाको नाइटभिजन हेलिकोप्टरबाट समेत बम प्रहार गरिएको थियो
। नाइटभिजन हेलिकप्टरका कारण सेनाको मनोबल बढेको थियो । हेलिकप्टरको आक्रमण पश्चात् माओवादीका कमण्डरहरु ब्याक भएका थिए । घमासान रूपमा चलेको भिडन्तले त्यस क्षेत्रलाई माघ ९ गते बिहान सम्म छोडेन । गोली तथा बम पड्किएको आवाज भोलि बिहान ६ बजेसम्म सुनिएको थियो । हेलिकप्टर बस्ने तथा उड्ने क्रम बिहान ९ सम्म चलिरहेको थियो । उक्त स्थानलाई सुरक्षाकर्मीहरूले माघ ९ गते दिउँसो २ बजे मात्र छोडेका तर्फ लागेका थिए ।
स्रोतः इन्सेक (एचआरटिएमसीसी) प्रतिवेदन तथा विभिन्न लेखहरू