काठमाडौं : बुधबारदेखि थापागाउँस्थित मण्डला नाटक घरमा ‘मासिन्या’ मञ्चन हुँदै छ । बुद्धि तामाङ र सोनाम लामाको निर्देशन तथा परिकल्पनामा तयार भएको नाटक तामाङ समुदायमाथि राज्यसत्ताले गरेको विभेदको कथामा आधारित छ ।
नाटक लक्ष्मी रुम्बा, राजु स्याङ्तान र रावतले लेखेका हुन् । बुधबार प्रिमियर शो राखिएको नाटक माघ ११ देखि २८ गतेसम्म प्रत्येक दिन मञ्चन हुने रुम्बाले बताइन् । लेखक रुम्बाका अनुसार झण्डै दुई वर्षअघिबाट नाटक तयार थालिएको हो । तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि मासिन्याले त्यसमा टेवा पुग्ने उनको विश्वास छ ।
‘मासिन्याले जंगबहादुरको समयदेखि अहिलेसम्म सुन्दर तामाङ बस्ती कसरी रित्तिदै गएको छ भन्ने कथा भन्छ,’ उनले भनिन्, ‘हामीले कविता त लेख्यौं, यतिले पुगेन भन्ठानेर नाटक ल्यायौं । हाम्रो मौलिकता बोकेको माटो, हाम्रै पीडाको कथा भन्न हामीले नाटकको माध्यम रोजेका छौं ।’ नाटक राज्यले गरिरहेको विभेदविरुद्धको सिर्जनात्मक हस्तक्षेप भएको ताम्सालिङ संयुक्त संघर्ष समितिका सदस्य सचिव मोहन गोलेले बताए ।
‘तामाङ समुदायलाई राज्यसत्ताले गरिरहेको विभेदविरुद्धको सिर्जनात्मक हस्तक्षेप हो, मासिन्या,’ गोलेले भने । नाटकलाई समितिले आर्थिक सहयोग गरेको निर्माण पक्षले जनायो । समुदायभित्र गढेर बसेको पीडालाई नाटकका रूपमा समूहको पहिलो प्रयास भएको बताउँदै अर्का लेखक राजु स्याङ्तानले नाटकले समग्र राज्य प्रणालीको विभेदमा पिल्सिएका सीमान्तकृत समुदायको कथा व्यक्त गर्ने बताए ।
समितिका संयोजक डा. गणेश योञ्जनले मासिन्यामार्फत राज्यबाट दबिएको तामाङ समुदायको पीडा उजागर गर्न खोजिएको बताए । तामाङलगायत राज्यबाट विभेदमा परेका समुदायको मुद्दालाई सामाजिकीकरण गर्न यसले महŒवपूणर् भूमिका खेल्ने उनको भनाइ छ । नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारहरुको अभिनय रहेको छ । १९१० सालमा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरे । उक्त ऐनले जातको आधारमा वर्ग विभाजन गरेका थिए । ब्राह्मण, क्षेत्री उपल्लो वर्ग बने भने नमासिन्या मतवाली र मासिन्या मतवालीजस्ता जातीय विभेदको सूत्रपात भयो । यसको सामाजिक, मनोवैज्ञानिक र सांस्कृतिक प्रभावको विषयवस्तुमा नाटक ‘मासिन्या’ तयार भएको छ ।