सिन्धुलीः देशभर झैं सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित् कोक्टीमा घले समुदायले हर्षोल्लासका साथ घले ल्होसर मनाएका छन् । सिन्धुली, काभ्रे लगायतका घले समुदाय जमघट भई आफ्नो ल्होसर मनाएका हुन् ।
लिःल फङ (घले समाज) बागमती प्रदेशका सदस्य सन्देश घलेले हरिपुरगढीमा पहिलो पटक घले समुदायले औपचारिक कार्यक्रमसहित लिःल ल्होसर मनाइएको बताए । थियो । हरिहरपुरगढीमा लिःल ल्होसर आयोजनाको लागि उनकै विशेष पहल तथा भुमिका रहेको छ ।
सोमबार लिःल फङ (घले समाज) हरिहरपुरगढी गाउँपालिका कार्यसमितिद्धारा ‘सम्पुणर् घले जातिहरु एक हौँ’ भन्ने नाराका साथ ‘प्रथम लिःल (घले) ल्होसर कार्यक्रम’ आयोजना गरिएको हो ।
हरिहरपुरगढी-१ का निवर्तमान वडा अध्यक्ष कर्साङ ग्लानको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा लिःल फङ (घले समाज)को केन्द्रिय सदस्य भुवन घले विशेष अतिथिको रुपमा रहेका थिए । त्यस्तै लिःल फङ (घले समाज) हरिहरपुरगढी कार्यसमितिको अध्यक्ष चिनबहादुर घलेको सभापतित्वमा रहेको कार्यक्रममा लिःल फङ (घले समाज) बागमती प्रदेशको सदस्य सन्देश घले, समाजसेवी गनेश लामा, डम्बर योञ्जन, विकास तामाङ, देशभक्त रुम्बा, वडा सचिव लक्ष्मण वाईबा लगायत स्थानीयको बाक्लो उपस्थिति रहेका थिए ।
योए ल्हो (विरालो वर्ग) को बिदाई गरी मुग-ल्हो (चिल वर्ग)को स्वागतर्थ उनीहरुले घले जातीको महान् पर्व ल्होसर मनाएका हुन् । हरिहरपुरगढीका घले समुदायले ल्होसरको खुसीयालीमा खुशी साटासाट गर्नुका साथै मिठा मिठा स्थानीय परिकार सहभागीलाई समेत खुवाएका छन् ।
घले जातिको हक हित र जातीय पहिचान संरक्षणका निम्ति स्थापित गर्न विविध सांस्कृतिक कार्यक्रमसहित घले ल्होसार मनाएको लिःल फङ (घले समाज) हरिहरपुरगढीले जनाइएको छ ।
ल्होसर के हो ?
‘ल्हो’ भनेको वर्ग र ‘सर’ भनेको नयाँ हो । १२ वटा वर्ग चक्र घुमिरहने भएकाले यो चक्र हरेक वर्ष माघ १ गते सर्ने र यसलाई घले समुदायले नयाँ वर्षको स्वागतको रूपमा मनाउने गरेको छ ।
आफ्नै भाषा, भेषभुषा र संस्कृति रहेको घले समुदायले अघिल्लो वर्षमा भएका नराम्रा विषयलाई भुलेर आगामी नयाँ वर्षमा नयाँ काम गर्ने अवसरको रूपमा ल्होसर पर्व मनाउने गरेका छन् ।
घलेहरूले परापूर्वकालदेखि ल्होसार मनाउँदै आएको भएपनि २०६५ सालमा लिःल फङ (घले समाज) स्थापना भएपछि संस्थागत रूपमा ल्होसर मनाउन थालिएको हो। लामो समयसम्म काठमाडौंमा मनाइने गरिएको ल्होसार २०७३ सालदेखि देशका विभिन्न शहर तथा गाउँपमा मनाउन थालिएका हुन् ।
घलेहरू नेपालका ३६ जिल्लामा छरिएर बसेका छन् । हरेक जिल्लामा रहेका घलेहरूको आफ्नै मौलिक खानपिन, जातीय पहिरन, संस्कृति तथा बाजागाजाहरू छन् । कुल पुजा तथा अन्य पुजाआजा गर्दा भेडा, परेवा र हासको प्रयोग गर्छन् ।