काभ्रे : सामाजिक सञ्जालमा केही दिनयता चिया, मःम र रक्सीका रमाइला तस्बिर एकाएक भाइरल भए । सुरुमा एउटा बालकले मःमको डल्लो लिएर भागेको र आमाले लखटेको तस्बिर सञ्जाल प्रयोगकर्ताहरूले रमाइलो मानेर सेयर गरिरहेका थिए ।
त्यसको भोलिपल्ट चियाका पारखीहरूका लागि अर्को खुराक बनेर आए- चियासँगका रमाइला तस्बिर । त्यस्तै गरी अर्को रक्सीले मातेपछि मानिसले देखाउने व्यवहार बारे व्यङ्ग्य गरेको तस्वीर समाजिक सञ्जालमा छाउन थाले ।
अहिले सञ्जालहरू चियासँगका तस्बिरले रंगिएका छन् र धेरै प्रयोगकर्ताले आफ्ना स्मृति र अनुभूतिसमेत यिनै तस्बिरका माध्यमबाट साटिरहेका छन्।
मानिसहरुले आफ्नो विगतलाई स्मरण गर्दै यी रमाइला तस्वीरहरु आफ्नो समाजिक सञ्जाल पोष्ट गरिरहेका छन् । उनीले तस्बिरको जस फेसबुकलाई दिँदै प्रश्न समेत गरेका छन् ‘कसले बनाइरहनुभएको छ यति राम्रा फोटा ?’
समाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफ्नो विगतसँगै रमाइला स्टाटस लेखेर यी फोटोहरु राखी आफ्ना चिया र रक्सी पिउने र मःम खाने साथीहरूलाई पनि मेन्सन गरेका छन् ।
यसरी चियाका तस्बिर सामाजिक सञ्जालमा राखेर आफ्ना साथीहरूलाई मेन्सन गर्ने थुप्रै छन् । यी रमाइला तस्वीरहरु भाइरल हुन थालेपछि आम मानिसको जिज्ञास बढ्दै गयो । अखिर यस्तो तस्वीर कहाँबाट आइरहेको छ ? कसले बनाएको होला ?
सामाजिक सञ्जालमा भाइरल भइरहेका यी तस्बिर काठमाडौँस्थित् जोरपाटीमा बस्दै आएका श्रवण बम्जनले बनाएका हुन् । उनी किताबका आवरण पृष्ठ साजसज्जाको काम गर्छन् ।
खासमा उनले सबै तस्बिरहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को माध्यमबाट बनाएका हुन् । उनी केही दिनदेखि एआई आर्टका बारेमा अध्ययन गरिरहेका थिए । एआईका फाइदा-बेफाइदा केलाउँदै जाँदा यो प्रविधिले राम्रो कला रचनामा सहयोग पनि गर्ने थाहा पाए ।
उनमा आईबाट बन्ने तस्वीर बारे खुल्दुली बढ्न थालेसँगै उनलाई खाजाको बारेमा आर्ट गर्न मन लाग्यो । सबैभन्दा पहिला उनको दिमागमा लोकप्रिय खाजा मःम आयो । उनले केही बूढापाका मानिस राखेर आर्ट बनाउन एआईलाई निर्देशन दिए । उसले बनाइदियो ।
श्रवणलाई रमाइलो लागेन । भन्छन्, ‘बूढाबूढीलाई मःम ख्वाएको नसुहाएजस्तो देखियो । त्यसपछि उनले एआईलाई बच्चाहरूको रमाइलो आर्ट बनाउन निर्देशन दिए ।
अनि आएको तस्बिर थियो- अहिले सञ्जालमा मःमको डल्लो लिएर हाँस्दै भागेको बच्चा र पछिपछि दौडिरहेकी महिलाको रमाइलो तस्बिर । यो तस्बिर सामाजिक सञ्जालमा राखेपछि एकाएक भाइरल भयो । त्यसपछि उनलाई अझै सिर्जनशील आर्ट गर्न मन लाग्यो ।
उनले सोचे, ‘ममपछि नेपालमा के लोकप्रिय छ?’ दिमागमा आइहाल्यो, चिया । श्रवणले चियाको आर्टका लागि एआईलाई निर्देशन दिनुअघि विचार गरे, चियामा केके देखिनुपर्छ ? कम्प्युटरमा टाइप गरे ‘चियाको किट्ली, आगो, चिया खान वरिपरि बसेका मानिस ।’
यस अवधारणामा आर्ट गर्नका लागि श्रवणले एआईलाई पटकपटक निर्देशन दिए । उनले सामाजिक सञ्जालमा चियाका थोरै आर्ट सार्वजनिक गरेका छन् । तर, यस क्रममा ५०-६० वटा आर्ट गरेको उनी बताउँछन ।
भन्छन्, ‘चियाको आर्ट बनाउँदा ग्रामीण परिवेशको कल्पना गरेँ र त्यहीअनुसार निर्देशन दिएँ । एआईले नेपाली बुझ्दैन । अंग्रेजीमा ठ्याक्कै हामी बुझाउन सक्दैनौं । त्यसैले एकैपटकमा हामीले कल्पना गरेको जस्तो आर्ट नआउन सक्छ ।’
एआईले आर्ट बनाएर त दिन्छ, तर त्यसलाई कस्तो आकार दिने, कुन रूपमा प्रस्तुत गर्ने, कहाँ के राख्ने, त्यो सबै आफ्नो कन्सेप्ट भएको श्रवण बताउँछन् ।
उनी भन्छन्, ‘एक हिसाबले एआईसँग मलाई यस्तो आर्ट गरिदेऊ भनेर लेखेर कुरा गर्ने हो। हाम्रो लेखाइअनुसार उसले आर्ट बनाइदिन्छ । चिया, मःम तस्बिर पनि मैले कल्पना गरेर निर्देशन दिएँ, एआईले बनाइदियो ।’
चिया र मःमका आर्ट भाइरल भएपछि श्रवणलाई विकृति समातेर आर्ट गर्न मन लाग्यो । त्यसपछि जाँड-रक्सी खाएर कोही रोएका, कोही रमाइरहेका, कोही झगडा गरिरहेका आर्ट गरे ।
यी रचना उनले क्याप्सनसहित सार्वजनिक गरे । भन्छन्, ‘आर्ट हेरेर रमाइलो पनि होस्, क्याप्सन पढ्दै जाँदा मनमा छोओस् र लागोस् रक्सीको लत राम्रो होइन ।’
रक्सीका चित्र त बनाए, सार्वजनिक गर्ने बेला आफ्नोबारे पनि गलत सन्देश जाने हो कि भन्ने श्रवणलाई भय भयो। आफू जाँडरक्सी नखाने भए पनि चित्र हेरेर परिवारले पीर लिन्छ कि भन्ने उनको चिन्ता थियो । त्यसपछि उनले कफी खाँदै गरेको आफ्नो तस्बिर राखे र लेखे, ‘म कफीप्रेमी ।’
एआईको सहारामा श्रवणले बनाएका कलालाई लिएर सञ्जालमा धेरै कोणबाट प्रतिक्रियाहरू आएका छन् । श्रवण भन्छन्, ‘धेरैले यो आर्ट म आफैंले बनाएको सम्झेर कति राम्रो भनिरहेका छन् ।
कतिपयले मानिसहरूलाई त्यसरी उभ्याएर फोटो खिचेको सोचेछन् । तर, युवा पुस्ताले भने एआई करामत हो भन्ने बुझेको छ ।’
आफूले सिर्जना गरेका कला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । मानिसहरू तस्बिरसँगै रमाइरहेको देखेर उनी दंग छन् । भन्छन्, ‘मैले यी तस्बिर रमाइलोका लागि मात्रै राखेको थिएँ । यसरी भाइरल होला भनेर सोचेको थिइन् । मलाई अनौठो लागेको कुराचाहिँ हामी नेपालीहरू सामान्य तस्बिरमा पनि अत्यन्तै खुसी हुँदा रहेछौँ । हामीलाई खुसी हुन ठूलो कुरै नचाहिने रहेछ । उहाँहरूको खुसी हेरेर म पनि खुसी भैरहेको छु ।’
तस्वीरहरु
नेपाल खबर/राधिका अधिकारी