♦ जीवन तामाङ
कास्की : कास्कीको पर्यटकीय गाउँ घान्द्रुक पुग्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ । स्थानीयलाई गाउँ पुगेका पर्यटकको चाप बढ्दा व्यवस्थापन गर्न भ्याइनभ्याइ छ ।
घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर १० र ११ मा पर्ने घान्द्रुकमा गत मंसिर १ गते मात्रै २ हजारभन्दा बढी पर्यटक पुगेको जानकारी दिए । उनका अनुसार पछिल्ला दिन सोही अनुपातमा पर्यटक पुगेका छन् ।
अध्यक्ष गुरुङले पछिल्लो समय दिनहुँ जसो घान्द्रुकमा पर्यटक पूर्णरुपमा भरिएका (हाउसफुल) नै हुँदा व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताए । उनका अनुसार घान्द्रुककमा पर्यटक राख्नका लागि ५५ होटल र २२ होमस्टे छन् ।
स्थानीय तमु होमस्टेकी प्रोपाइटर मिम कुमारी गुरुङ (अन्जित)ले पर्यटकको आगमनले घान्द्रुक क्षेत्रका होमस्टे तथा होटल व्यवसायी उत्साहित भएको बताईन् । उनका अनुसार अहिले अधिकांश स्थानीय पर्यटन व्यवसायमा निर्भर हुँदै आएका छन् । यद्यपी, आन्तरिक पर्यटकको भने अहिलेसम्म कुनै निकायले तथ्याङ्क राख्ने गरेको देखिदैन ।
यस क्षेत्रमा असोज महिनादेखि पर्यटकको आगमन सुरु हुने गर्छन् । घान्द्रुकबाट अन्नपुर्ण र माछापुच्छ्रे अवलोकन गर्न आउने आन्तरिक पर्यटक विगतको तुलनामा यसवर्ष वृद्धि भएको स्थानीय बताउँछन् ।
घान्द्रुक अन्नपुर्ण पदयात्राभित्र पार्नुका साथै यहाँबाट घोडेपानी समेत पुग्न सकिने हुँदा पर्यटकको चाप बढेको हो ।
घान्द्रुक जानुअघि जानकारी लिन आग्रह
घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले घुमघामको सिजनमा घान्द्रुक आउँदा यहाँको बासस्थान, मौसमी अवस्था लगायत आवश्यक विषयमा जानकारी लिएर मात्र आउन आग्रह गरे ।
‘घुम्न आएका पाहुनालाई बास छैन भनेर फर्काउन पनि भएन् । अहिलेसम्म मिलाएर त राखेकै छौँ’, उनले भने, ‘आफ्नो सुविधाका लागि उहाँहरुले सिजनको समयमा व्यवसायी वा समितिसँग समन्वय गरेर आउनु भएमा राम्रो हुन्थ्यो ।’
तमु होमस्टेकी प्रोपाइटर गुरुङले घान्द्रुकमा दैनिक पाँचदेखि २ हजारको हाराहारीमा पर्यटक पुग्ने गरेको बताईन् । घान्द्रुकमा एक दिनमा होटल, होमस्टे र घरमा गरी २ हजार दुईसम्म पाहुन राख्ने क्षमता रहेको उनको भनाई छ ।
उनले पर्यटकको संख्या बढी हुँदा व्यवस्थापनमा गाह्रो हुने भएकाले सामाजिक सञ्जालमार्फत् समेत जानकारी दिन सकिने बताईन् । उनले भनिन्, ‘घान्द्रुकमा आउनुभन्दा अगावै बस्न चाहनुभएको होटल तथा होमस्टे सञ्चालकसँग सम्पर्क गरेर मात्र आउनुहुन अनुरोध छ ।’
तस्वीरहरुः