काभ्रे : जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ मा पार्टी एकताको लागि दबाब दिन संयोजन समिति गठन भएको छ । शुक्रबार ‘जनतासँग माओवादीः विशेष रुपान्तरण, जनजनमा माओवादी–घरघरमा माओवादी’ अभियान अन्तर्गत् माओवादी केन्द्र र तत्कालीन माओवादीबाट विभाजित रहेको विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्न अजय तामाङको संयोजकत्वमा ५ सदस्यी संयोजन समिति गठन तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
माओवादी केन्द्र विशेष प्रदेश कमिटी उपाध्यक्ष सन्तोष पौडेल, प्रदेश समिति सदस्य गोपाल घिमिरे, जिल्ला कमिटी सदस्य राज लामा, नगर उपाध्यक्ष इश्वर ढकाल, अनेसंघ (क्रान्तिकारी) जिल्ला सचिव राम माया तामाङसँगै विप्लव निकट नेकपाबाट तामाङ मुक्ति मोर्चाका केन्द्रिय संयोजक एवं पार्टी केन्द्रिय प्रतिनिधि दुर्गा सिं तामाङ (प्रेरक), युवा संगठनका पुर्वी ताम्सालिङ व्यूरो इन्चार्ज अजय तामाङ, जिल्ला सदस्य राजकुमार तामाङ, नगर इन्चार्ज शुक्र तामाङसहित दुवै पार्टीका वडा कमिटि पदाधिकारीहरु एवं सदस्यहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा दुवै पार्टीका नेताहरुले पार्टी एकताको आवश्यकतालाई चर्चा गर्दै जनयुद्ध तथा जनआन्दोलनको उपलब्धिको रक्षा गर्दै सहिदले बगाएको रगतको सम्मान गर्न समाजवादी क्रान्तिको निम्ति व्यापक जनसमुदायलाई परिचालनको लागि ढिला गर्न नहुने भन्दै पार्टी एकताको मध्यमबाट मात्रै अबको आन्दोलनको नेतृत्व र उपलब्धिको रक्षा गर्न सकिने भनाई राखेका थिए ।
अन्तरक्रियामार्फत् जनयुद्धकालीन सहयात्रादेखि आजसम्मको वस्तुगत आवस्थाको समीक्षा गर्दै पार्टी एकता र बृहत कम्युष्टि ध्रुवीकरणको आवश्यकतालाई मध्यनजर गरी आगामी दिनमा सहकार्य गर्नको लागि दुवै पार्टीबाट प्रतिनिधित्व हुने गरी ५ जनाको संयोजन समिति समेत गठन भएका छन् ।