काभ्रे : जिल्लाको महभारत गाउँपालिका–५ स्थित् डोटे भोर्लेनीकी निवर्तमान महिला वडा सदस्य ४२ वर्षीय पदममाया लुगेंली घरेलू हतियार हम्बर प्रहारबाट घाइते भएकी छन् । महाभारत गाउँपालिका–५ का वडा अध्यक्ष विजय रानाले छिमेकी ५५ वर्षीय लनाम सिं वम्जनले टाउको हम्बरले प्रहरी गर्दा लुंगेली घाईते भएको जानकारी दिए ।
वडा अध्यक्ष विजय रानाले घाइते लुंगेलीलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि ललितपुरको पाटन अस्पताल पु¥याइएको बताए । उनका अनुसार लुंगेलीको अहिले उपचार भइरहेको र स्वास्थ्य स्थिति सुधारउन्मुख रहेको छ ।
अचम्म लाग्दो कुरो के हो भने लुंगेलीमाथि आक्रमण गर्ने वम्जन विष सेवनबाट अचेत अवस्थामा भेटिए । वम्जन बुधबार लुंगेलीमाथि आक्रमणपछि बेपत्त थियो । प्रहरी र वडा अध्यक्ष रानासहितको स्थानीयहरुले खोजी गर्दा समेत नभेटिएपछि फेरी आज (विहीवार) विहान खोजी कार्य गर्दा वम्जन घर नजिकैको मकै बारीमा बिष सेवन गरी अचेत अवस्थामा फेला परेको थियो । महिला वडा सदस्यमाथि हम्बर प्रहार गरी वम्जनले विष सेवन गरी आत्माहत्याको प्रयास गरेको देखिन्छ ।
वडा अध्यक्ष रानाले अचेत अवस्थामा फेला पर्ने वित्तिकै उनलाई उपचारको लागि जिल्लास्थित् धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बताए । इलाका प्रहरी कार्यालय बनखुले निर्वतमान महिला वडा सदस्य लुंगेली जितमा गएर माइतीबाट घर फर्कीने क्रममा वम्जनले बाटोमा आक्रमण गरेको जनाइएको छ ।
घाईते निर्वतमान महिला वडा सदस्य लुंगेलीले आफुहरुबिच यसअघि कुनै विषयमा विवाद नभएको बताईन् । उनले एक्कासी आफुमाथि हम्बर प्रहार गर्दा अचम्मित भएकी सुनाउँदै किन र के कारणले आफुमाथि ज्यान लिने गरी आक्रमण गरे भन्नेमा थाहा नभएको बताईन । घट्ना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
अघिल्लो २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट लुंगेली महाभारत–५ को महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । उनलाई हम्बर प्रहार गर्ने वम्जन र निवर्तमान वडा सदस्य लुंगेलीको घर करिब १० मिनेटको दुरीमा पर्छ ।