रोशी, काभ्रे : जिल्लाको रोशी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुलाई कम्प्युटर वितरण गरेको छ । तीन बर्षदेखि वितरण गर्दै आएकोमा शुक्रबार २० वटा विद्यालयलाई कम्प्युटर सेट वितरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच कम्प्युटर वितरण गरेको हो । कम्प्युटर वितरण गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले समयनुकुल कार्यक्रमहरू गर्दै जानुपर्ने लामाले बताए । आजको जमानामा कम्प्युटरको सिप नभएमा काम नलाग्ने लामाको भनाई छ ।
‘हिजोको स्नातक आज अपडेट भएन भने निरक्षर हुन्छ भन्ने युक्ति छ । त्यसरी नै हामीले समयअनुकुल हामीले हाम्रो कार्यक्रम बनाउदै गएन भने भोली काम नलाग्ने हुनसक्छ ।’ अध्यक्ष लामाले भने, ‘त्यसैले हामीले कम्प्युटरको जमानामा हामीले विद्यालयलाई कम्प्युटर वितरण गरेका छौँ । यसलाई भरपूर प्रयोग गरेर फाईदा लिनुहोला ।’
समय अनुसार विज्ञान र प्रविधियुक्त शिक्षण सिकाई आएकोले सोही अनुसार पठनपाठन होस भन्नको निक्ती कम्प्युटर वितरण गरेको लामाले बताए । कम्प्युटर ल्यावबाहेक गाउँपालिकाको आन्तरिक कार्यक्रमका रुपमा एक विद्यालय एक कम्प्युटर सेट वितरण गरेको उनको भनाई छ । एक सेट कम्प्युटर, एक थान प्रिन्टर र एक थान युपिएस वितरण गरेको अध्यक्ष लामाले बताएका छन् । यसरी कम्प्युटर वितरण गर्नुको कारण शैक्षिक सुधार होस भन्ने रहेको लामाले बताए । छिटै नै विद्यालय अनुगमन गरी शिक्षक दरबन्दी मिलानको काम र विग स्कूल निर्माणका कामहरू गर्ने पनि लामाले जानकारी दिए ।
सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले अहिलेको जमानाको विद्यार्थीहरू कम्प्युटरमा रमाउने जमाना भएको बताएका छन् । विद्यार्थीहरू आधुनिक प्रविधिमा रमाउदै सिक्न चाहने भएकाले सोही अनुसारको शिक्षा विकासका लागि कम्प्युटर वितरण गरेको वाईबाले बताए । इसिडि भएको विद्यालय र नभएको विद्यालयमा धेरै अन्तर पाएको उनको भनाई छ ।
आधुनिक प्रविधिको प्रयाग गर्दै समय अनुसारको शिक्षा प्रणाली प्रयोग गरेर विद्यार्थीहरूलाई शिक्षा दिनको लागि उपाध्यक्ष लामाले शिक्षकहरूलाई अनुरोध गरे ।
कम्प्युटर वितरण गर्नु अगाडी गाउँपालिकाले सबै विद्यालयका एक÷एक जना शिक्षकलाई कम्प्युटर तालिम प्रदान गरेको थियो । रोशी गाउँपालिका भित्र ६९ विद्यालय सञ्चालित छ । सो मध्ये २० वटा विद्यालयमा कम्प्युटर वितरण गर्न बाँकी रहेकोमा शुक्रबार वितरण गरेका हुन् । रोशी गाउँपालिका भित्र सञ्चालित सबै माध्यामिक विद्यालयहरूमा इन्टरनेट पुर्याईसकेको गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र सिग्देलले जानकारी दिए ।
उक्त कार्यक्रममा रोशी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष वडाध्यक्ष नारायणबहादुर सिवाकोटी, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनविर लामा लगायतको उपस्थिती रहेका थिए ।