काभ्रे : वागमती प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री तिर्थबहादुर लामाले नागरिकता दिएर मात्रै नभई तामाङ पहिचानलाई स्वीकारे मात्र बलियो राष्ट्रवाद हुने बताएका छन् । शुक्रबार तामाङ पत्रकार संघ संघिय समितिद्धारा २९ औं तामाङ प्रसारण दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री लामाले यस्तो बताएका हुन् ।
कार्यक्रममा बलियो राष्ट्रवादको लागि तामाङसहितको पहिचानलाई स्वीकार गर्नु पर्ने बताए । मन्त्री लामाले नागरिकता दिएर मात्र बलियो राष्ट्रवाद नहुने र नागरिकतालाई कागजको टुक्रा मात्र भएको टिप्पणी गरे ।
‘राज्यले तामाङ जातिको पहिचानलाई स्वीकारे मात्र बलियो राष्ट्रवाद हुन्छ,’ उनले भने, ‘नागरिकता मात्र बलियो राष्ट्रवाद हो जस्तो लाग्दैन । त्यो कागजको टुक्रा मात्र हो ।’
उनले अधिकार र पहिचानको लागि तामाङहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । त्यस्तै मन्त्री लामाले जाति विशेषको मात्र होइन राष्ट्रलाई बलियो बनाउन तामाङहरु अगाडि बढ्न समेत आग्रह गरे ।
उनले जातीय सम्प्रदायिकताको बिरुद्ध जुनकुनै बेला उभिनु पर्ने बताउँदै राजनीतिक र पहिचानको लडाइबाट धेरै अधिकारको र अझै प्राप्त गर्नु बाँकी रहेको जिकिर गरे ।
त्यस्तै मन्त्री लामाले आगामी भदौ महिनाभित्र वागमती प्रदेशमा तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाउन ऐन पास गर्ने बताए ।
‘सरकारी कामकाजको भाषामा तामाङ भाषालाई माध्यमको भाषा बनाउन पारित भएको छ ।’ उनले भने, ‘केहिदिन पछि सदन सुचारु हुन्छ र त्यो ऐन पेस हुनेछ । त्यसपछि तामाङ र नेवार भाषा वाग्मती प्रदेशको सरकारी कामकाजको भाषा हुनेछ ।’
तामाङ मिडिया अवार्डबाट मोक्तान र ङेसुर सम्मानित, ह्याङ्ला काई विमोचन
त्यसैगरी तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ संघीय समितिले दुई जना तामाङ पत्रकारलाई समेत सम्मान गरेको छ ।
संघले तामाङ मिडया अवार्डबाट सन्तविर मोक्तान र मायालु ङेसुरलाई सम्मान गरेको हो । उनीहरुलाई तामाङ भाषाको उत्थानको लागि तामाङ भाषाबाट रेडियो, पत्रपत्रिका तथा टेलिभिजनबाट विगत २५ बर्षदेखि आवाज बुलन्द गर्दै आएको भन्दै सम्मान सम्मान गरेका हुन् ।
त्यस्तै सोही अवसर पत्रकार संघले ह्याङ्ला काई ९हाम्रो आवाज० पुस्तक समेत विमोचन गरेको छ । उक्त पुस्तकमा तामाङ भाषाको कार्यक्रम प्रसारण भएदेखी आजको विषय वस्तुलाई दस्तावेजको रूपमा प्रकाशित गरेको संघले जनाइएको छ ।
आज देशभर विविध कार्यक्रम गरि प्रसारण दिवस मनाइरहेको छ ।