काठमाडौँ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गरेका छन् । घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कारबाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।
सोमबार मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्षसहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाएका हुन् ।
टेकु प्रहरी परिषदमा भएको घटनाको सम्बन्धमा गिरफ्तारपछि चरम यातनाबाट घाइते भएकी कृति गोले र मन्जु मगरले प्रहरीको ज्यादतीको बिषयमा गृहमन्त्री श्रेष्ठलाइ प्रत्यक्ष भेटेर जानकारी गराउँदै दोषीमाथी कार्वाहीको लागि ध्यानाकर्षण गराउने काम भएको छ ।
सांसद राधिका तामाङका अनुसार गृहमन्त्री श्रेष्ठले टेकुमा आन्दोलनकारीलाई पक्राउपछि चौकीभित्र निर्मम यातना दिएको घटनाको छानबिन गरि कार्वाहीको प्रक्रिया अगाडि बढाउने साथै घाइतेहरुको उपचारको सम्पुर्ण जिम्मा लिने र सशतल पाण्डेलाई कानुनी प्रक्रिया अगाडि बढाउन त्यहीँबाट सम्बन्धित निकायालाइ निर्देशन दिइएको छ ।
तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कार्वाही गर्न उजुरी दिए पनि समयमै सुनुवाई नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिइएको थियो । सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जन बढी धर्नाकारी घाइते भएका थिए ।
सोही दिन पक्राउ अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भए पनि धर्नाकारीलाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिइएको तामाङ घेदुङ र मगर संघले बताएका छन् । घाइते दर्जनौं महिला र पुरुष आन्दोलनकारीको उपचार जारी छ ।
ज्ञापनपत्र बुझाउन सासदहरु हित बहादुर तामाङ, सुर्यमान दोङ, मिना तामाङ, राधिका तामाङ र नेपाल तामाङ घेदुङको अध्यक्ष, नेपाल मगर संघको अध्यक्ष लगायत पुगेका थिए ।