काभ्रेः जिल्लाको बेथानचोक गाउँपालिका धार्मिक सांस्कृतिक तथा पुरातात्विक दृष्टिले प्रचुर सम्भावना बोकेको क्षेत्र हो। गाउँपालिकाका लागि संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले गरेको सांस्कृतिक तथा पुरातात्विक अध्ययनको प्रतिवेदनमा यो क्षेत्रको प्रचुर सम्भावना र यसको व्यवस्थापनको बारेमा उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पर्याप्त सम्भावनाको यो क्षेत्रमा पुरातात्विक स्थलहरुको संरक्षण गर्दै त्यसमा पर्यटक आकर्षित गर्ने बताए ।
विकासका लागि भौतिक संरचना मात्रै नभएर संस्कृति र परम्पराको संरक्षण समेत आवश्यक रहेको भन्दै पालिका विकासको बहुआयामिक पक्षलाई सँगै लैजाने पक्षमा रहेको उनको भनाइ थियो ।
राजनीतिक दृष्टिले यो क्षेत्र उत्तरमध्यकाल र शाहकालमा महत्वपूर्ण थियो भन्ने कुरा विभिन्न साहित्यिक स्रोतले देखाएको छ । राष्ट्रिय अभिलेखालयमा भेटिएको एक ताम्रपत्रमा मकवानपुरका राजा दिग्बन्धन सेनले तेमालका राजालाई त्यहाँको शासन गर्ने अनुमति दिएको उल्लेख छ । जसले गर्दा यो क्षेत्रसम्म पनि कुनै समय सेनहरूको शासन थियो भन्ने आधार देखिएको छ ।
यो क्षेत्र तेमालका राजाले पनि शासन गरेको भन्ने पनि सो ताम्रपत्रबाट पुष्टि हुन आएको छ । उता गोर्खाली सेनाले पलाञ्चोक जितेपछि खावा, काभ्रेकोट धुलिखेल जितेर सिधै बनेपा पनौती र महाभारत डाँडोतिर गोर्खाली सेनाले चासो दिएका थिए । यो उपत्यकामा नाकाबन्दी गर्ने योजना बमोजिम भएको देखिएको छ ।
त्यस्तै, यो भेग राजनीतिक महत्वको एक ऐतिहासिक भू–क्षेत्र थियो भन्ने आधार भेटिएको छ । यो क्षेत्रमा मध्यकालमा राजामहाराजाहरूको आवतजावतको इतिहासले यो राजनीतिक महत्वको एक क्षेत्र हो भन्ने प्रमाण पाइन्छ ।
यहाँ जयज्योति मल्लको राज्यकालपछि उनलाई सोही क्षेत्रमा धपाएको इतिहास, भूपतीन्द्र मल्लले सपनामा चाँगुनारायण बेथानचोकमा बसेको भनेर सपना देखेपछि उनी नारायणथान आएका थिए भन्ने इतिहास छ । यसले पनि यो क्षेत्र ऐतिहासिक महत्वको क्षेत्र थियो भन्ने देखिएको हो ।
यो क्षेत्र मध्यकालमा उत्तरदक्षिण व्यापारमार्गको रुपमा समेत रहेको भेटिएको छ । हालको बेथानचोक भेग परम्परागत व्यापारिक मार्गको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्ने साहित्यिक एवं पुरातात्विक प्रमाणले देखाएको छ ।
यो व्यापारिक मार्ग उत्तरमा तिब्बतदेखि दक्षिणमा भारत जोड्ने व्यापारिक मार्गको एक हिस्सा थियो भन्ने सम्भावना यस अध्ययनबाट भेटिएको छ ।
मध्यकालीन उत्तरदक्षिण व्यापारको केन्द्र बनेपा र काठमाडौं उपत्यका थियो । बनेपा र काठमाडौं उपत्यकाबाट तराईतर्फ जाने विभिन्न मार्गमध्ये केही मार्ग यो पालिका हुँदै जाने गरेको तथ्य विभिन्न स्रोतबाट देखिएको छ । बनेपाबाट दक्षिणतर्फबाट हुने व्यापार यही बेथानचोक हुँदै सिन्धुलीबाट तराई झरेर भारततर्फ हुन्थ्यो ।
उत्तरतर्फ जाने बाटो बनेपाबाट दोलखा हुँदै तिब्बततिर जान्थ्यो । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले काठमाडौंलाई चारैतिरबाट नाकाबन्दी गर्ने योजनाअनुरूप महाभारतको नारायणथान डाँडोलाई पनि रणनीतिक रुपमा महत्व दिएकोबाट पनि यो क्षेत्र सामरिक दृष्टिले महत्वपूर्ण थियो भन्ने भेटिन्छ ।
यसका बाहेक महाभारतकालीन स्थानका विभिन्न किंवदन्तीहरु, प्राग् मानवको बसोबासको स्थल, सेनकालीन गढीहरु, विभिन्न स्थानीय मौलिक संस्कृति आदिले बेथाचोक क्षेत्र पर्याप्त सम्भावनै सम्भावनाको क्षेको रुपमा रहेको पाइएको छ ।
अनलाइनखबरबाट