वडाको सिफारिसविना नै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट बंशजको आधारमा नागरिकता, कर्मचारी मिलेमत्तोको आशंका, कार्यालयमा छैन रेकर्ड
काभ्रेः एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्लाको ठेगाना राखेर लिएको नागरिकता वडाको सिफारिस बिना नै बनेको खुलासा भएको छ । दावाले काभ्रेबाट वि. सं. २०७४ पुष २० गते निमा तामाङका नाममा वंशजका आधारमा लिएको नागरिकतामा नमोबुद्ध नगरपालिका ११ नम्बर वडा ठेगाना उल्लेख छ ।
एक वर्षअघि सीआईवी निमा तामाङको बारेमा अनुसन्धान गर्न आएको जानकारी दिँदै तत्कालीन वडाअध्यक्ष कृष्णबहादुर लामाले भने, ‘निमाको तीन पुस्ते विवरण र निमालाई पनि खोजबिन गरेको थियो। वडाबाट निमा तामाङलाई नागरिकता बनाउन सिफारिस नै नगरिएकाले विवरण फेला पर्ने कुरा पनि भएन र थिएन पनि ।’
वि.सं.२०७९ साउन १७ गते वडा कार्यालयले नगरपालिकामार्फत् सीआईबीलाई पत्र पठाएको थियो । तत्कालीन वडा अध्यक्ष लामाले निमालाई नागरिकता बनाउन सिफारिस नगरिएकाले सोही व्यहोराको पत्र वडा कार्यालयबाट नगरपालिका हुँदै सीआईवीलाई पठाइएको बताए । लामाले वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई समेत निमा नमोबुद्ध ११ का नागरिक नभएको जानकारी पठाएको बताए ।
काभ्रेबाट जारी भएको पुष्टि, नागरिकतामा नाम पेमा
दावाले २०७४ पुस २० गते काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ बाट वंशजको नागरिकता निकालेका थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेले दावाको वंशजको नागरिकता जारी भएको पुष्टि गरेको छ । नागरिकता लिएको एक महिनामै उनले २०७४ माघ ११ गते नेपाली राहदानी निकालेका थिए ।
नेपाली नागरिकता र राहदानीमा उनको जन्म मिति २०४१ वैशाख १५ गते उल्लेख छ । अहिले उनी नेपाली र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गर्छन् । बेल्जियमको राहदानीमा भने उनको जन्म मिति २०४० चैत ३ गते राखिएको छ भने ठेगाना लिथाङ उल्लेख गरिएको छ । लिथाङ तिब्बतमा पर्छ । नेपाली राहदानीको म्याद १ मार्च २०२८ सम्म र बेल्जियम राहदानीकोे म्याद ३ जनवरी २०३० सम्म छ ।
निमा तामाङले नागरिकतामा पेमा तामाङ राखेका छन् । नागरिकता प्रमाणपत्र नम्बर ३०–१–७४–११८६८ रहेको छ । तत्कालीन प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले निमाको नागरिकतामा हस्ताक्षर गरेका छन् । नागरिकतामा हस्ताक्षर गर्ने अधिकार कानुनले प्रशासकीय अधिकृतलाई दिएको छ ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी शिव शिंखडाले नागरिकतामा हस्ताक्षर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको हुने भएकाले आफूलाई जानकारी नभएको बताए । ‘नागरिकतामा हस्ताक्षर गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छैन’–तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले भने, ‘नागरिकतामा मैले हस्ताक्षर गरेको पनि छैन । कागजात हेरेर एकिन गरेपछिमात्रै दिनुभएको होला । निमा तामाङको विषयमा मलाई कुनै जानकारी छैन ।’
कर्मचारी मिलेमत्तोको आशंका, कार्यालयमा छैन रेकर्ड
सर्वसाधारणलाई वडाको सिफारिस हुँदा पनि ह्रस्व– दीर्घ नमिल्दा नागरिकता उपलब्ध नगराउने प्रशासन कार्यालयले वडाको सिफारिसबिना नै कसरी नागरिकता उपलब्ध गरायो होला ? अर्को शंकास्पद विषय निमा तामाङको नाममा जारी गरिएको नागरिकताका कुनै पनि कागजात जिल्ला प्रशासन कार्यालयको रेकर्डमा फेला परेका छैनन् ।
‘हामीले पनि अनुसन्धान शुरू गरेका छौं’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने, ‘वडाको सिफारिस भए नभएको वा अन्य कागजात र यसअघि भएका अनुसन्धानका बारेमा पनि अध्ययन गरिरहेका छौं ।’
एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती नागरिक दावा छिरिङ नेपालमा चिनियाँ आपराधिक ग्याङ भित्र्याउने नाइके मानिन्छन् । अधिकांश अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाएर र ‘लोन एप’ मार्फत् अवैध असुली गर्ने धन्दा दावाकै ग्याङले गर्ने गरेको बताइएको छ ।
प्रहरीका अनुसन्धान र प्रमाणहरूले चिनियाँ नागरिकलाई नेपाल भित्र्याएर गैरकानुनी धन्दा चलाउने काममा सबैभन्दा ठुलो भूमिका तिब्बती नागरिक दावा छिरिङको भए पनि प्रहरीले यसअघि अनुसन्धान गरेर पनि कारबाही रोकेको खुलासा भएको छ । राजनीतिक संरक्षणका आडमा दावा अपराधको सञ्जाल फैलाउन सफल भएका थिए ।
‘लोन एप’ मार्फत् अवैध असुली
दावामार्फत् नेपाल छिरेको चिनियाँ गिरोहले पछिल्लो समय ‘लोन एप’ मार्फत् ऋणको जालोमा फसाएर अवैध असुली गर्दै आएको छ । २०७८ साउनमा नेपाल प्रहरीले काठमाडौंको सिनामंगल र रूपन्देहीको तिलोत्तमामा छापा मारेर दावा समूहका चिनियाँ र नेपाली गरी १५ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
त्यसबेला पनि दावालाई प्रहरीले अनुसन्धान नै गरेन । वि.सं. २०७८ फागुनदेखि साउनसम्मको ६ महिनामा मात्रै प्रहरीले देशभर आधा दर्जन ठाउँमा छापा मारेको थियो । २०७६ को पुसमा प्रहरीले काठमाडौंबाट १ सय २२ चिनियाँलाई अनलाइन जुवा, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गरेको थियो । यो समाचार न्युज अफ नेपाल डटकमको लागि मोतिराम तिमल्सिनाले लेखेको हो ।