बेथानचोक काभ्रेः बेथानचोक गाउँपालिका वडा नं. ६ स्थित् भुग्देउको प्रत्येक घरघरमा खानेपानीको सुविधा पुगेको छ । महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समिति र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्तासँगको साझेदारीमा सञ्चालित परियोजनाबाट भुग्देउका प्रत्येक घर, विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालयहरुमा खानेपानी सुविधा पुगेको हो ।
बेथानचोक–६ भुग्देउमा खानेपानी पुर्याउन आर्थिक तथा प्राविधिक सहयोग बेथानचोक गाउँपालिकाले गरेको थियो । परियोजनाबाट ३२० घरधुरी र ३ वटा विद्यालयबाट १७ सय ७९ र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट १७२ घरधुरी, ३ वटा विद्यालय, १ वटा स्वास्थ्य र वडा कार्यालयबाट १ हजार २५ जनाले सुविधा पाएका छन् ।
वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले शनिबार खानेपानीको धारा खोली उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री लामाले स्वच्छ खानेपानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले यस विषयलाई विशेष प्राथमिकतामा राखिएको पनि लामाले बताए ।
उनका अनुसार, लामो समयको प्रयासपछि घर–घरमा खानेपानी धारा पुप्याउन सफल भएको छ । यसको संरक्षण तथा व्यवस्थापन गर्नु सबैको दायित्व भएको बताउँदै मन्त्री लामाले भने, ‘यसको लागि वाग्मती सरकारले आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता समेत गरेको छ।’
त्यस्तै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जनताको चाहनाअनुसार ‘एक घर–एक धारा’ कार्यक्रम स्थानीय तहले प्रदान गरेको बताए । जनताको मागअनुसार नै पालिकाले खानेपानीको विषयलाई प्राथमिकतामा राखेर नेवासँगको साझेदारीमा काम सम्पन्न गरेको अध्यक्ष अधिकारीको भनाइ छ । उनका अनुसार घर–घरमा पुगेको धारो र प्रत्येक थोपा–थोपा पानीको संरक्षण गर्दै सबैले यसमा सहकार्य गर्न आवश्यक छ ।
विगत २७ वर्षदेखि भग्देउमा खानेपानीको लागि सहकार्य गर्दै नेवा संस्थाले ‘एक घर–एक धारा’ कार्यक्रमका लागि प्राविधिक तथा आर्थिक सहयोग गरेको थियो । नेवाका निर्देशक रेशमजंग सिंले आ.व २०७९/८० को मंसिर १६ गतेबाट महांकालचौर र थिङछाप खानेपानी सरसफाई तथा उपभोक्ता समितिबाट सुरु भएको ‘एक घर–एक धारा’ परियोजना २०८० असार ६ गते सम्पन्न भएको बताए ।
उनका अनुसार, परियोजना सम्पन्न भएसँगै यसको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समिति र स्थानीयले सुम्पिएको छ । उनले परियोजना सम्पन्न गराउन साथ, सहयोग र सहकार्य गर्ने निकायलाई धन्यवाद दिए ।
महांकाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले आयोजनाअन्तर्गत १ करोड ७५ लाख ४७ हजार २२० रुपैयाँको कुल लागतमा दुई वटा मुहान तथा संरचना तयार भएको जानकारी दिए । उनले नेवा संस्थाबाट ८१ लख ५८ हजार ३१९ रुपैयाँ, बेथानचोक गाउँपालिकाबाट ४९ लाख ८५ हजार ३४५ रुपैयाँ, जनश्रमदानबाट २२ लाख ३८ हजार ९६७ रुपैयाँ र समुदायस्तरबाट २१ लाख ६४ हजार ५८० रुपैयाँको सहयोगमा मुहान तथा संरचनाहरु तयार भएको बताए ।
त्यस्तै थिङछाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष तीर्थबहादुर लामाले १ करोडा ११ लाख १३ हजार ७३४ रुपैयाँको कुल लागतमा खानेपानी मुहान संरचना तयार भएको बताए । उनले नेवा संस्थाबाट ६६ लाख १९ हजार ३६५ रुपैयाँ, बेथानचोक गाउँपालिकाबाट २१ लख ९७ हजार ६९९, जनश्रमदानबाट १० लाख ७९ हजार ९५६ रुपैयाँ र समुदायस्तरबाट १२ लाख १६ हजार ७१४ रुपैयाँको सहयोगमा खानेपानीका संरचनाहरु तयार भएको जानकारी दिए ।