काभ्रेः जिल्लाको मण्डनदेउपुर नगरपालिकामा १५ बेडको अस्पताल बन्ने सुनिश्चित भएको छ । शुक्रवार सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ करोड, ६ लाख ८२ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित सहितको प्रतिबद्धता पत्र पठाएपछि अस्पताल निर्माण सुनिश्चित भएको हो ।
नगर प्रमुख टोकबहादुर वाइबाको सचिवालयले एक प्रेस नोट जारी गर्दै अब नगरमा यस अघि निर्माण सम्पन्न भएको ५ बेड सहित २० बेडको अस्पताल निर्माण हुने जनाइएको छ । मन्त्रालयले स्रोत सुनिश्चित गरेको प्रतिबद्धता पत्र नगर प्रमुख वाइबाले मन्त्रालयमै पुगेर बुझेका थिए ।
नगरपालिकाको १३ औँ अधिवेशनबाट अस्पताल निर्माण गर्न लागत साझेदारीका लागि चालु आव २०८०।०८१ मा ४ करोड रुपैयाँको बजेट सुनिश्चित गरिसकेको छ । १५ शैयाको अस्पताल मण्डनदेउपुर–७ स्थित् बन्ने पक्का भएको सचिवलयले जनाइएको छ ।
‘नगरप्रमुख टोक बहादुर वाइबाले सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ करोड, ६ लाख ८२ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित सहितको प्रतिबद्धता पत्र शुक्राबार स्वयं मन्त्रालयमा पुगेर बुझेको हो ।
यसअघि केही व्यक्तिहरूले सार्वजनिक खरिद ऐन अनुसार लागिसकेको ठेक्का समेत रद्द गर्नका दबाब दिएको गुनासो गर्दै नगर प्रमुख वाइबाको सचिवालयले अनेकन् बाधा र व्यवधानका बिच नगरप्रमुखको विशेष अग्रसरतामा सङ्घ र नगरपालिकाको लागत साझेदारीमा १५ बेडको नयाँ अस्पताल निर्माण कार्यका लागि सम्झौता भई कार्यादेश समेत दिई भवन निर्माणको काम सुचारु भैसकेको जनाएको छ ।
अस्पताल सञ्चालनमा आएपछि यस नगरपालिकाका नगरवासीसँगै काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका, भुम्लु र चौरीदेउराली गाउँपालिका तथा मण्डनदेउपुर नगरपालिकासँग जोडिएको छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, पाँच पोखरी थाङपाल गाउँपालिकाका नागरिकलाई समेत सेवा प्रदान गर्न सकिनेछ ।
त्यसैगरि भौतिक संरचना निर्माणसँगै नगरको ध्यान आवश्यक उपकरण र विशेषज्ञ सेवा प्रदान गर्न तर्फ हुने सचिवालयले जनाएको छ ।