काभ्रेः मण्डनदेउपुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्र दर्ता भएका सहकारी संस्थाको खोजी गरेको छ । विहीबार मण्डनदेउपुर–८ का ३ वटा सहकारीको स्थलगत अनुगमन गर्दै नगरपालिकाले सहकारी खोजी अभियन जारी राखेको हो ।
उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुमणि नेपालको नेतृत्वमा सहकारी अनुगमन थालेको हो । तत्कालिन डिभिजन सहकारी कार्यालयमा यस नगरपालिकाभित्रका १७२ वटा सहकारी दर्ता भएका छन् ।
त्यस्तै सेवा केन्द्र खोल्ने सहकारी संस्थाको संख्या पनि बढ्दो छ । तर नगरपालिकामा हालसम्म जम्मा ८४ वटा मात्रै सहकारी अद्यावधिक भएका छन् ।
बाँकी सहकारी कुन अवस्थामा कहाँ छन् भन्ने कुराको यकिन गर्न नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा ४ सदस्यीय अनुगमन समिति बनाएको छ । समितिमा सहकारीका अभियान्ता दिपक प्रसाद पौडेल, वडा नम्बर ८ का वडा अध्यक्ष निरञ्जन विष्ट र वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य सदस्य रहनुभएको छ ।
समितिले साउन ४ गतेदेखि सहकारीको अनुगमन थालेको हो । हालसम्म वडा नम्बर ७ को पुरै, वडा नम्बर ६ को सिपाघाट बजार क्षेत्रमा अनुगमन सकिएको छ । १ महिनाभित्र नगरपालिकाभित्रका सबै सहकारी खोजी गरिसक्ने गरी अनुगमन समिति लागेको छ ।
अनुगमनका लागि नगरपालिकाले विभिन्न सूचक सहितको चेक लिष्ट तयार पारेको छ । सहकारी अनुगमन समितिका सदस्य सचिब लक्ष्मी काफ्लेले प्रत्येक सहकारी संस्थामा पुग्दा उक्त चेक लिष्ट भर्ने गरिएको बताए ।
उपप्रमुख नेपालले भने, ‘डिभिजन सहकारी कार्यालयमा दर्ता भएका यस नगरपालिकाभित्रका सहकारीहरुको अवस्था पत्ता लगाउन अनुगमन थालिएको हो । धेरै सहकारीहरु नगरपालिकाको सम्पर्कमा नआएपछि स्थलगत अनुगमन गरिरहेका छौँ । हामी १ महिनाभित्र अनुगमनको काम सकाउने गरि लागिरहेका छौँ । त्यसपछि समितिले प्रतिवेदन सार्वजनिक गर्नेछ । जसले गर्दा सहकारी कुन अवस्थामा छन् भन्ने कुरा सहजै पत्ता लाग्छ ।’
राज्य पुनःसंरचनापछि यस नगरपालिकाले पहिलो पटक नगरपालिकाभित्रका सहकारीको अनुगमन थालेको हो । मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको ६ वटा नगरपालिका मध्ये सबैभन्दा कान्छो नगरपालिका हो ।
करिब चार महिना अघि बसेको कार्यपालिका बैठकले सहकारी अनुगमन गर्ने निर्णय गरेको थियो । अनुगमनका लागि नगरपालिकाले छुट्टै कार्यविधि बनाएको छ । अनुगमन समितिका सदस्य पौडेलले सहकारीले भोगिरहेको वर्तमान समस्या बुझ्ने र समाधानका लागि अनुगमनले सहज हुने बताए ।
त्यस्तै अनुगमन समितिका सदस्य विष्टले सहकारीको नियमन र अनुगमन नहुँदा विश्वसनियता कम हुँदै गएकाले विश्वास दिलाउन अनुगमन थालिएको बताए । सहकारीको विकास र प्रवद्र्धधनमा नगरपालिकाले काम गर्नका लागि पनि अनुगमन आवश्यक रहेको उनको भनाई छ ।
नगरपालिकाभित्र दर्ता भएका मध्ये ४० देखि ५० वटा मात्रै सहकारीले नियमित कार्यालय खोलेर काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ । अनुगमन समितिका सदस्य आचार्यले सहकारी संस्थाहरु कहाँ, कसरी सेवा दिइरहेका छन्, आफ्नो उद्देश्य अनुसार काम गरिरहेका छन् की छैनन् भनेर हेर्न अनुगमनले सहयोग पुग्ने बताए ।