जग्गा छोरा हुँदै अर्कैको नाममा पास, कर्मचारी मिलेमत्तोको आशांका
खानीखोला, काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका–३ का कृष्णबहादुर थिङ (ढुंगना) जीवितै छन् । तर उनको १७ वर्ष पहिले नै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा मृत्यु भएको छाप लागेको छ । त्यति मात्र नभई कृष्णबहादुरको नाममा भएको जग्गा समेत मालपोत कार्यालयबाट अरुकै नाममा पास भइसकेको छ ।
झट्ट सुन्दा कथा जस्तो लाग्ने, अपत्यारिलो लगे पनि कृष्णबहादुर र उनको परिवारले भोगेको यो यथार्थमा घटना हो । कृष्णबहादुरले खानीखोला–३ का वडाध्यक्ष सागर जिम्बाको सक्रियतामा आफ्नो मृत्यु दर्ता खरेज गरेका छन् । यद्यपी जग्गा बारे के हुन्छ टुंगो छैन ।
वडा अध्यक्ष सागर जिम्बा आफै कृष्णबहादुरलाई लिएर मृत्यु दर्ता खारेजीको लागि जिल्ला प्रशासन कार्यालय धुलिखेलमा पटक–पटक पुगेका थिए । निरन्तर पहलपछि जिल्ला प्रशासन कार्यालयले २०८० असार १३ गते कृष्णबहादुरको मृत्यु दर्ता खारेज गरिदिए । वडाध्यक्ष जिम्बाको अनुसार वडाको अभिलेखमा जिउँदो कृष्णबहादुरको २०६३ असोज २१ गतेको मितिमा मृत्यु दर्ता भएको थियो ।
वडाध्यक्ष जिम्बाले जिवित कृष्ण बहादुरको मृत्यु दर्ता खारेज भएसँगै अब बैधानिक रुपमा समाजिक सुरक्षा भत्ता दिने बाटो खुलेको बताए । उनले यसअघि कार्यालयको अभिलेखमा मृत्यु दर्ता भएकाले मान्छे जिवित भएपनि कानुनी रुपमा समाजिक सुरक्षा भत्ता दिन नसकेको बताए ।
यस्तो छ, घटनाको विस्तृत
वि.स. २००१ चैत्र ३० गतेको जन्म राखि नागरिकता प्राप्त गरेका कृष्णबहादुर थिङले राज्यले निर्धारण गरेको उमेर अनुसार सामाजिक सुरक्षा भत्ता नपाएपछि वडामा गुनासो गरेका थिए ।
तर स्थानीय पञ्जिकाधिकारीको कार्यालयको अभिलेकको दर्ता नं. ६ मा २०६० मंसिर १३ गते मृत्यु भएको भनी जेठो छोरा जितबहादुर थिङ सुचक बसी २०६३ साल असोज २१ मा बाबु कृष्णबहादुर थिङको मृत्यु दर्ता गराएको भेटिए ।
यसपश्चात् उनले स्थानीय केही व्यक्तिलाई यो झुटो हो भनी मृत्यु दर्ता खारेज गरिदिन सहयोग मागे तर कसैबाट सहयोग नपाएको गुनासो गरे । उनले निर्वतमान वडा अध्यक्ष जयबहादुर लुंगेली लगायतलाई कुरा राखे पनि आश्वासन बाहेक केही नपाएको बताए ।
दास्रो स्थानीय तहको निवार्चनपछि हालको खानीखोला–३ का वडा अध्यक्ष सागर जिम्बालाई कृष्णबहादुरले आफुले झेल्दै आएको घटना सुनाउँदै पहल गरिदिन आग्रह गरे । यस पश्चात वडाध्यक्ष जिम्बा आफै सक्रिय भई गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङसहित कृष्णबहादुलाई लिएर जिप्रकामा प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित निकायका व्यक्तिहरुसँग समस्या राख्दै मुद्दा खरेजको लागि निवेदन गर्न पुगेका थिए ।
यसैक्रममा सिडियो कार्यालयले मृत्यु भएका भनिएका कृष्णबहादुर बिषयमा थप वास्तविकता एकिन गर्दा कृष्णबहादुर १५÷र १६ बर्षदेखि मेरी छोरीको घरमा बस्दै आएको र त्यही समयमा छोरा जितबहादुर मृत्युदर्ता गरिदिएको खुले ।
त्यस्तै तत्कालीन स्थानीय पञ्जीकाधिकारी मेघनाथ शर्माले झुट्टा विवरण दिई राज्य तथा कार्यालयलाई नै झुक्यानमा पारी मृत्यु नभएको आफ्नै बुबा कृष्णबहादुरको मृत्यु भईसकेको भनी २०६३ असोज २१ मा मृत्यु दर्ताको प्रमाण पत्र लिएको साबिती बयान दिएका थिए ।
बुबाको मृत्यु दर्ता गर्ने जितबहादुरको समेत मृत्यु भइसकेको खुल्न आएको समेतका आधार प्रमाणहरूबाट कृष्णबहादुरको मृत्यु भएको भन्ने व्यहोराको मृत्यु दर्ताको प्रमाणपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन, २०७६ को दफा २४ बमोजिम यही २०८० असार १३ गतेको निर्णयले रद्द गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाइएको छ ।
कृष्णबहादुरको आशंकाः छोरासँग कर्मचारीकै मिलेमत्तो
छोरा जितबहादुरले मृत्यु दर्ता मात्रै नभई मालपोत कार्यालयमा भएको जग्गा समेत आफ्नो नाममा नामसारी गरिसकेका छन् । यी सबै थाहा पाएसँगै एक्कासी छाँगाबाट खसे झैँ लागेको बताएको कृष्णबहादुरले त्यसपछिका धेरै दिन रुदँै बिताएको सुनाए । कृष्णबहादुरका दुई छोरा मध्ये जितबहादुर जेठा हुन् । पुर्णमान थिङ सानो हुँदै खोलाले बगाएर मृत्यु भएकाले छोरीहरु मात्रै छन् ।
कृष्णहादुरले आफु छोरीको घरमा रहेको बेला छोराले आफ्नो मृत्यु दर्ता गरेको बताए । उनले मृत्यु दर्तासँगै आफ्नो नामको जाग्गसमेत छोराले आफ्नो नाममा गरिएकोमा भने छोरासँगै कर्मृचारी र अन्य केही मान्छेको पनि मिलेमत्तो हुन सक्ने आशंका गरेको छ । उनले हरेक दिन मादक पदार्थ सेवन गरेर बेहोसी जस्तै अवस्थामा बस्ने छोराले मात्रै यत्रो काम गर्न नसक्ने दाबी गरे ।
‘आफु १५÷१६ वर्षदेखि छोरीको घरमा बस्दै आएको थिए त्यही समयमा छोरोले मेरो मृत्यु दर्ता गरिदिए छन्,’ कृष्णबहादुरले भने, ‘सधैँ मादक पदार्थ सेवन गरी मातेर बस्ने छोराले मात्रै मृत्यु दर्तादेदि जग्गा समेत आफ्नो नाममा ल्याउने जस्तो काम गर्न सक्दैन, उसँग कोही न कोही संलग्न छ, उनलाई कानुनी ज्ञान पनि छैन ।’
त्यस्तै कृष्ण्बहादुरको नाती विलबहादुरले बाबु अत्यधिक रक्सि खाने भएकाले त्यसकै प्रभावमा केही जमिन आफु लिएर कर्मचारीहरुकै मिलेमत्तोमा त्यसो भएको हुन सक्ने बताए । कृष्णबहादुरको नाममा रहेको करिब २४ रोपनीभन्दा बढी जग्गा नामसरी भएको देखिन्छ ।
कृष्णबहादुरको नामबाट जितबहादुरको नाममा नामसरी भएको जग्गामध्ये १ रोपनी ७ आना सोही वडाकै श्याङ्का बहादुर थिङलाई बेचिएको देखिन्छ । त्यस्तै ६ आना जग्गा भने जयबहादुर लुङ्गेलीको नाममा रहेको परिवारिक स्रोतले जनाइएको छ । लुङ्गेली तत्कालीन डाँडागाउँ गा.वि.सको सहायक सचिव तथा खानीखोला–३ को निर्वतमान वडा अध्यक्ष समेत हुन् ।
जितबहादुरको आत्महत्या
जिउँदो बाबुको मृत्यु दर्ता गरी उनको नाममा भएको सम्पति आफ्नो नाममा गरेका छोराले आत्महत्या गरेका छन् । जितबहादुरको जेठो छोरा विलबहादुर थिङका अनुसार जिउँदा हजुरबुबाको मृत्यु दर्ता बारे परिवार र आफन्तले सोधपुक्ष गरेको केहि महिनापछि उनले २०७५ बैशाख २१ गते झुण्डिएर आत्महत्या गरेको थियो ।
वडाध्यक्ष जिम्बाका अनुसार स्थानीय पञ्जिकाधिकारीको कार्यालय, वडा नं. ३, खानीखोला गाउँपालिकाको कार्यालयबाट २०७५ जेठ १४ गते दर्ता भएको द.नं. १०००७ को मृत्युदर्ताबाट जितबहादुरको मृत्युको पुष्टि हुन्छ ।
कृष्णबहादुरको नाती विलबहादुरले हजुरबुबाको मृत्यु दर्ता बारे सोध्दा जवाफ नै नदिई बुबा जितबहादुरले आत्महत्या गरेको बताए । ‘मैले थाहा पाएदेखि नै बुबा (जितबहादुर) अत्याधिक मादक पदार्थ सेवन गर्नु हुन्थ्यो, बुबाले सोधेको जवाफ नै नदिई आत्महत्या गर्नु भयो,’ उनले भने, ‘ उहाँ (जितबहादुर)ले किन त्यस्तो गर्नु भयो ? आजसम्मै अजविज्ञ छु ।’
हजुरबुबाको मृत्यु दर्ता खरेजको खबरले खुशी र उत्साहित देखिएका उनले प्रश्न गरे, ‘यथार्थ बुझि मृत्यु दर्ता गरिदिने कर्मचारीहरु जिम्मेवार हुन्छन् कि हुँदैनन ?’
एउटै व्यक्तिको दूई अभिलेखमा नाम
एउटा अभिलेखमा कृष्णबहादुरको मृत्यु दर्ता गरिएको छ । अर्को अभिलेखमा सामाजिक सुरक्षा प्राप्त गर्ने ब्यक्तिको सूचीमा नाम उल्लेख छ । यसअघि एउटै ब्यक्तिको दुबै अभिलेख देखिएको भए पनि हटाउन सकिएको थिएन । पञ्जिकरण विभाग तथा अन्य निकायमा गरिएको समन्वय अनुसार एउटा अभिलेख हटाउने प्रयास अनुरुप कृष्णबहादुरको मृत्यु दर्ता खारेज गरेको हो ।
विलबहादुरले हजुरबुबाले सामाजिक सरक्षा भत्ता नलिएको बताउँदै बुबाले गरेको गल्तीको सजाँय आफुहरुले भोग्नु परेको सुनाए । उनले भने, ‘हजुरबुबाले मृत्यु दर्ता देखिएका कारण सामाजिक सुरक्षा भत्ता लिन पाएको छैन, बाबुको गल्तिको सजायँ हामीले भोगिरहेका थियौैँ, अब भने भत्ता पाउने बाटो खुलेको छ ।’
थाहाखबर