बनेपा, काभ्रेः जिल्लाको बनेपा बजारको मुख्य चोक तथा बजार क्षेत्रमा सुरक्षा व्यवस्था तथा निगरानीका लागि जडान गरिएको सीसीटीभी क्यामेरामा समस्या आउँदा प्रहरीलाई सुरक्षा व्यवस्थानमा समस्या आइपरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले सुरक्षामा सहयोग पुर्याउन राखिएको सीसीटीभी क्यामेरा बिग्रिँदा सुरक्षा व्यवस्थामा चुनौती थपिएको बताए ।
बजार क्षेत्रमा सुरक्षा कायम गर्नका लागि बनेपा बजारको विभिन्न स्थानमा राखिएका ३८ वटा सीसीटीभी क्यामेरामध्ये हाल एउटा मात्रै प्रयोगमा आएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । २०७३ साल जेठ ५ गते काभ्रे उद्योग वाणिज्य संघको पहलमा बनेपाका विभिन्न स्थानमा २९ वटा सीसी क्यामेरा जडान गरिएको थियो ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक बोहोराले संघले जडान गरेका २९ वटा सीसी क्यामेरामध्ये ३ वटा सुरुआती समयमा बिग्रेर प्रयोगमा नआएको बताए । उनका अनुसार, २०७८ साउन ४ गते बनेपा नगरपालिकाले इलाका प्रहरी कार्यालय बनेपासहित बनेपाका विभिन्न स्थानमा ९ वटा सीसीटीभी क्यामेरा जडान गरेको थियो । उनले अहिले इलाका प्रहरी कार्यालय बनेपाको मात्रै सीसीटीभी क्यामेराले काम गरिरहेको जानकारी दिए ।
बनेपाको तरकारी बजार, तीनधारा, गणेशस्थान, गोदाम चोक, अरनिको राजमार्गअर्न्तगत बुडोलदेखि पुलबजारका लगायतका विभिन्न स्थानमा जडान गरिएका २६ वटा क्यामेरा पनि बिग्रेर सञ्चालनमा आएका छैनन् ।
‘अधिकांश सीसीटीभी क्यामेरा, प्राविधिक समस्याका कारण बिग्रिएका छन्,’ उनले भने, ‘घामपानीले पनि सीसी क्यामेराको फाइबरमा समस्या पर्ने रहेछ, त्यस्तै फाइबर चुँडिने, ब्याकअपमा समस्या लगायतका समस्या देखिएका छन् ।’
उनका अनुसार, बिग्रिएका स्थानमा मर्मत तथा संभारका लागि नगरपालिका र उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण गराइएको छ । तर यस विषयमा सम्बन्धित सरोकारवाला निकायले चासो नदिदाँ आपराधिक क्रियाकलापको निगरानी तथा सुरक्षा व्यवस्थापन गर्न प्रहरीलाई समस्या भएको छ ।
बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बिग्रिएका सीसीटीभी क्यामेराको मर्मत कार्य नगरपालिकाले पटक–पटक गर्दै आएको दाबी गरे । उनका अनुसार, सीसीटीभी क्यामेराको लाइन जडान भएको पोलमा विभिन्न कम्पनीहरुको तार पनि एकै ठाउँमा जोडिएका छन् । एउटाको बिग्रेर बनाउँदा, सबै तारहरु चलाइन्छ । नगर प्रमुख शाक्यले त्यसले गर्दा पनि सीसीटीभी क्यामेरामा पटक(पटक समस्या आउने गरेको बताए ।
काभ्रे उद्योग वाणिज्य संघले पनि विभिन्न स्थानमा बिग्राएका सीसीटीभी क्यामेराको मर्मत कार्य गरेको अध्यक्ष राजेन्द्र पसछेंले बताए । उनका अनुसार, बजेट अभावका कारण संघले अहिले मर्मत कार्यमा सहकार्य गर्न सकेको छैन । हालको लागि इलाका प्रहरी कार्यालय बनेपा र बनेपा नगरपालिकाले सहकार्य गरेर बिग्रिएका सीसीटीभी क्यामेराको मर्मत कार्य गर्नुपर्ने देखिएको अध्यक्ष पसछेंले बताए । उक्त कार्यमा संघले आवश्यक सहकार्य र समन्वय गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
सुरक्षा व्यवस्थापनका लागि नगरपालिकाको विभिन्न वडामा सीसीटीभी क्यामेरा जडान कार्य भइरहेको बनेपा नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका सबै वडामा सुरक्षा व्यवस्थाका लागि सीसीटीभी जडान गर्ने योजना नगरपालिकाको रहेको छ ।
बनेपा नगरपालिकाको वडा नं १३ र १४ स्थित साँगा क्षेत्रको विभिन्न स्थानमा ७ वटा सीसीटीभी क्यामेरा जडान भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । कार्यालयका अनुसार, साँगा क्षेत्रमा २०७८ साउन २ गते बनेपा नगरपालिकाले ३ वटा र २०७९ असार २८ गते सामुदायिक लघुवित्त वित्तीय संस्थाले ४ वटा सीसीटीभी क्यामेरा जडान गरेको थियो । साँगा क्षेत्रमा जडान गरिएका ७ वटै क्यामेरा प्रयोगमा आएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक बोहोराको भनाइ छ । समाचार कान्तिपुरको लागि ज्योति श्रेष्ठले लेखेकी हुन् ।