मनहरीः मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन् । १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले राजीनामा दिएका हुन् ।
गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण आफूहरूलाई सरुवा गर्न खोजेपछि सामूहिक रूपमा राजीनामा दिन बाध्य भएको उनीहरूले बताएका छन् । राजीनामा दिए पनि पढाउन भने नछाड्ने एक प्रधानाध्यापकले बताए ।
उनीहरूले दिएको सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ । ‘सहमति विपरीतको सरुवा सजाय हो भन्ने महशुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ’, राजीनामा पत्रमा उल्लेख छ ।
यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए । उनले शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे ।
‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो । हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ’, उनले भने, ‘प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ । उहाँहरूले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ ।’
पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पुर्याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए ।
‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ। यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो । सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ । तर कसैले मान्दिनँ भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौ” अध्यक्ष कालाखेतीले भने ।