काठमाडौँः नेकपा एमालेले संगठन सुदृढीकरण र परिचालनका लागि चलाइएको ‘मिसन ग्रासरूट’ अभियानले पार्टी पुनर्जागृत गर्न खासै भूमिका नखेलेको विश्लेषण समीक्षा बैठकहरूमा भइरहेको छ। एमालेका तल्ला कमिटीमा रहेकाहरुले पनि पार्टी संगठित सदस्य नविकरण आधा भन्दा बढीले गरिएको छैन ।
एमालेका एक नेताले एकातिर पार्टीको आकर्षण कमजोर हुने, अर्कोतिर जिम्मेवारीबाट वञ्चित रहेका र अवसरको खोजीमा रहेकाहरूको क्षयीकरण तीव्र रूपमा भइरहेको बताए । उनका अनुसार एमालेका तल्ला कमिटीमा रहेकाहरू राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नवोदित दलमा जाने क्रम बढेको छ ।
संगठित सदस्य आधा भन्दा बढीले घटे
एमालेको दसौं महाधिवेशनमा एमालेका संगठित सदस्य झन्डै ८ लाख पुगेका थिए । एमालेले सार्वजनिक गरेको तथ्यांकअनुसार त्यतिबेला देशभरि ७ लाख ८९ हजार ६२० जना एमालेका संगठित सदस्य थिए ।
तर महाधिवेशनको डेढ वर्ष वित्दै गर्दा (गत वैशाखसम्म आइपुग्दा) तीमध्ये आधाले पनि सदस्यता नवीकरण नगरेको देखिएको छ । यसले एमालेमा सदस्य क्षयकरण हुँदै गएको स्पष्ट हुन्छ । यसैलाई रोक्नको लागि एमालेले पार्टीलाई ग्रामीण स्तरमा मजबुद् बनाउन भन्दै गत फागुनदेखि वैशाखसम्म ‘मिसन ग्रासरूट’ अभियान चलाएको थियो ।
त्यस अभियानपछि वैशाख २८ देखि ३० गतेसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा ४९ प्रतिशतको हाराहारीमा मात्रै सदस्यता नवीकरण भएको तथ्यांक प्रस्तुत भएको छ । यसले महाधिवेशन ताका सार्वजनिक गरिएको तथ्यांकनुसारको सदस्यता बढ्ने देखिदैन । जसले गर्दा अहिले एमालेवृतमा ‘मिसन ग्रासरूट’ले खास प्रभाव छोड्न नसकेको विश्लेषण भएको एक नेताले बताए ।
यद्यपी एमालेले संगठित सदस्यता नवीकरणको समय असार १५ गतेसम्म तोकेको हुँदा जिल्लाबाट अद्यावधिक भएर नआइसकेकाले केही बढ्न सक्ने आँकलन उसले गरेको छ । यसबीचमा १ लाख १९ हजारले नयाँ आवेदन दिएको बुझिन्छ ।
एमालेले पार्टी सृदृढीकरण गर्न ‘मिसन ग्रासरुढ’ अन्तर्गत एक जिल्लाको नेतालाई अर्को जिल्लामा समेत खटाएका थिए । तर एक नेताले संगठन सुदृढीकरण अभियानका नाममा एउटा जिल्लाका नेतालाई अर्को जिल्लामा सिडिओ सारेझैं सार्नुमा ओली समुह भित्रका केही नेताहरूकै ‘हात’ रहेको बताए । त्यस्तै एकले अर्कालाई निषेध गर्ने क्रम ह्वात्तै बढेको ओली समुहकै नेताहरू बताउँछन् ।