काठमाडौंः नेपाली पब्जी मोबाइल टिम डीआरएस गेमिङ ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल २०२३’ (पीएमडब्लूआई) मा प्रतिस्पर्धा गर्न साउदी अरेबियाको रियाद प्रस्थान गरेको छ । साउदी अरेबियाको रियादमा हुन लागेको ४० करोड रुपैयाँभन्दा बढीको पुरस्कार राशिको प्रतियोगिता खेल्न डीआरएस प्रस्थान गरेको हो ।
अलस्टार्स स्टेज दक्षिण एसिया स्तरको भोटिङमा सबैभन्दा धेरै भोट पाएर डीआरएस पीएमडब्लूआईका लागि छानिएको हो । यो प्रतियोगिताको कूल पुरस्कार राशि ४० करोड नेपाली रुपैयाँभन्दा बढी छ ।
पीएमडब्लूआई अलस्टार्स स्टेज र मेन टुर्नामेन्ट गरी दुई चरणमा हुँदैछ । यो प्रतियोगितामा ‘डीआरएस गेमिङ’ले जुलाई ११ देखि १३ सम्म चल्ने अलस्टार्स स्टेजको १८ खेल खेल्दैछ, जुन प्रतियोगिताको पहिलो चरण हो ।
यसमा ‘डीआरएस गेमिङ’ सहित १८ टिम सहभागी छन् । यो खेलको लागि १३ करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि तोकिएको छ । अलस्टार्स स्टेजको खेल सकिँदा अङ्क तालिकाको शीर्ष पाँच टिमले मेन टुर्नामेन्टमा स्थानमा बनाउने छन्, जुन प्रतियोगिताको दोस्रो तथा प्रमुख चरण हो । यो चरणको खेल १४ जुलाई देखि १६ जुलाईसम्म चल्नेछ ।
मेन टुर्नामेन्टमा पब्जीको नौ क्षेत्रका १० टिम, एक आमन्त्रित टिम र अलस्टार्स स्टेजबाट आएका पाँच टिम गरी कूल १६ टिमले भिड्नेछन् । दक्षिण एसिया क्षेत्रको विजेताको रुपमा ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिप २०२३’ बाट मङ्गोलियन टिम ‘स्टलवार्ट ईस्पोर्ट्स’ले यो प्रतियोगिताको मेन टुर्नामेन्टमा पहिले नै स्थान बनाइसकेको छ ।
‘डीआरएस गेमिङ’ले भने मेन टुर्नामेन्टमा स्थान बनाउनको लागि अलस्टार्स स्टेज पार गर्नुपर्ने हुन्छ । मेन टुर्नामेन्टका लागि २६ करोड रुपैयाँभन्दा बढी छुट्याइएको छ ।