दक्षिण कोरियाः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र दक्षिण कोरियाका परराष्ट्रमन्त्री पार्क जिनका दूत ली हुन वुकबीच भेटवार्ता भएको छ ।
कोरियाको बुसान सहरमा भएको द्धिपक्षीय भेटका क्रममा दुई देशका जनस्तरको सम्बन्धलाई अझ प्रागाढ बनाउँदै लैजाने सन्दर्भमा कुराकानी भएको छ ।
परराष्ट्रमन्त्रीका दूत ली हुन वुकले कोरिया सरकारमार्फत् नेपालको विकासका लागि गर्न सक्ने सहयोग गर्न आफूहरु तयार रहेको बताए । “नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध स्थापित छ” परराष्ट्रमन्त्री पार्क जिनको सन्देश सुनाउँदै उनका दूत हुन वुकले भने, “यो सम्बन्धलाई अझ प्रागाढ बनाउँदै नेपालको समग्र विकासका क्षेत्रमा साथ र सहयोग गर्न कोरिया सरकार तयार छ ।”
मन्त्री मोदीले कोरिया र नेपालबीचको कुटनीतिक सम्बन्ध स्थापित भएको ४९ औँ वर्ष पूरा भई ५० औँ वर्षगाठमा प्रवेश गरेकोमा बधाई ज्ञापन गरे । नेपाल र कोरियाबीचको जनस्तरको सम्बन्धलाई थप परिष्कृत बनाउँदै लैजानुपर्ने उनको भनाई थियो ।
“यो सम्बन्धलाई अझ प्रागाढ र विश्वासिलो बनाउने दायित्व हाम्रो काँधमा छ” मन्त्री मोदीले भने, “दुवै देशको हक र हितका पक्षमा हुने सबैखाले गतिविधिमा हाम्रो साथ रहन्छ ।”
मन्त्री मोदीले नेपालको संघीयता कार्यान्वयनको चरणमा रहेकाले संघीयताको प्रभावकारी कार्यान्वयन र सबलीकरणका सन्दर्भमा रचनात्मक र सकारात्मक सहयोगका लागि अपिल समेत गरे ।