काभ्रेः आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनले आपसमा तालमेल गरेर उम्मेदवारी दिएको छ भने काभ्रेको एक निर्वाचन क्षेत्रमा गठबन्धन दलका दुई नेताको उम्मेदवारी दर्ता भएका छन् ।
सत्तारुढ गठबन्धन दल नेकपा (एकिकृत समाजवादी) बागमती प्रदेशका सचेतक तथा काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गरेका छन् । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका उनले काभ्रे–२ (ख) बाट प्रदेश सभा सदस्य पदमा बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनको सिट भागबण्डामा काभ्रे–२ को ‘ख’ नेपाली कांग्रेसको भागमा परेको थियो । सोही अनुसार कांग्रेसको तर्फबाट उक्त निर्वाचन क्षेत्रमा कांग्रेस वाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले गठबन्धनको साझा उम्मेवारको रुपमा नारा जुलुससहित कर्याकर्ताको भीड लिएर उम्मेदवारी दर्ता गराएका छन् ।
मन्त्री हुमागाईंले आफू सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवार भएको समेत दाबी गरेका छन् । उनले पार्टी केन्द्रबाट आफ्नो टिकट ढिला आएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्न केहि ढिला भएको बताए । उनले भने, ‘पार्टीको आधिकारिक निर्णय अनुसार उम्मेदवारी दिएको हुँ । टिकट समयमा नआई पुग्दा उम्मेदवार दर्ता केही ढिलाई भएको मात्रै हो ।’
दुवै नेताले मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । बादे गठबन्धनका अन्य उम्मेदवारसँगै उपस्थित भई विहान उम्मेदवार दर्ता गरेका थियो भने दिउँसो ४ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुमागाईं उम्मेदवारी दर्ता गरेर साँझ ५ बजेपछि निस्किएको थियो । मन्त्री हुमागाईं अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
यद्यपी हुमागाईंले गठबन्धन दलहरूको सहमति विपरीत उम्मेदवारी दिएका एक नेताले बताए । उनले यसबारे गठबन्धन दलबिच छलफल बसेर अवश्यक निर्णय गर्ने बताए । गठबन्धन दलको धुलिखेलको सरस्वती बजारस्थित् कोण सभामा बादे पुगेको थियो भने हुमागाईं भने सहभागी थिएनन् ।
सत्तारुढ गठबन्धनमै आवद्ध रहेका दुई दलका नेता एकै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेपछि गठबन्धनभित्र सकसको अवस्था देखिएको छ । उम्मेदवारी दिएका बादे र हुमागाईंमध्ये गठबन्धनको उम्मेदवार कसलाई मान्ने भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ ।
गठबन्धनबाट को आधिकारिक उम्मेदवार भन्ने विवाद गर्न जरुरी नरहेको एक नेताले बताए । उनले गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धामा उत्रिने निर्णय भएको पनि प्रस्ट पारे ।