काभ्रेः काभ्रे जिल्लामा क्रियाशील सत्तारुढ गठबन्धन दल र नेकपा एमाले लगायतका दलले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । संघीय क्षेत्र २ र प्रदेश ४ गरी ६ निर्वाचन क्षेत्र रहेको काभ्रेमा आईतवार विभिन्न राजनीति दल तथा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी निर्वाचनमा प्रतिस्पर्धीलाई हराएर आफू विजयी बन्ने मनोनयन दर्ता गर्ने उम्मेदवारह रुले दाबी गरे । राजनीतिक दलहरुले निर्वाचन आयोगको आचारसंहिता भन्दा बाहिर रहेका नाराजुलुसहित कार्यकर्ताको भीडलाई लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
काभ्रे–१ का लागि सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा सूर्यमान दोङ (लालध्वज) र काभ्रे–२ मा रमेशप्रसाद हुमागाईं उम्मेदवारी दर्ता गरेको छ । त्यस्तै क्षेत्र नम्बरको १ प्रदेश सभा क मा रत्न ढकाल र ख मा तीर्थबहादुर लामासँगै क्षेत्र नम्बर २ को प्रदेशतर्फ क मा लक्ष्मण लम्साल र ख कञ्चनचन्द्र बादेको उम्मेदवारी परेका छन् ।
त्यसैगरी एमालेबाट काभ्रेको प्रतिनिधिसभा १ मा रेशम लामा र २ को लागि गोकुल बाँस्कोटाले उम्मेदवार दर्ता गरेको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभातर्फ ‘क’मा दिलबहादुर तामाङ (दिलिप) र ‘ख’मा चन्द्र लामासँगै क्षेत्र नम्बर २ को प्रदेशसभातर्फ ‘क’मा कुमार खकुरेल र ‘ख’मा कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
काभ्रे क्षेत्र नम्बर १ को पनौतीस्थित् निर्वाचन कार्यालय र क्षेत्र नम्बर २ को धुलिखेलस्थित् मुख्य निर्वाचन कार्यालयमा व्यवस्था गरेअनुसार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । दर्ताको क्रममा प्रतिस्पर्धी उम्मेदवारहरुले एक अर्कामा हातेमालो तथा सँगै बसेर फोटो सेसन समेत गरेका थिए ।