झापा,दाङ र मकवानपुरमा अवैध लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट १ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित अर्जुनधारा नगरपालिका–११ सालबारी बस्ने २४ वर्षीय आकाश गिरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्र।३–०२–०१३ प ४७४३ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालक गिरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका–६ बाट २२० मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर उपमहानगरपालिका–५ घर भएका २९ वर्षीय मानबहादुर गन्दर्भ छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै थप सोधपुछ गर्ने क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने ३० वर्षीय अनिल विकसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपछि अनिललाई समेत प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेबाट २५६ केजी २८ ग्राम गाँजासहित भीमफेदी गाउँपालिका–९ महभीर बस्ने ३५ वर्षीय प्रकाश लामालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरीले नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना।७ ख ३९८७ नम्बरको आईचर ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक लामालाई पक्राउ गरेको हो ।