नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा जाने चालू पुँजी कर्जामा कडाई गरेको छ । बैंकले हालैमात्र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गर्दै चालु पुँजी कर्जाको अधिकतम सीमा निर्धारण गरेको हो ।
बैंकले २ करोडसम्म र २ करोडभन्दा माथिको चालु पुँजी कर्जालाई दुई किसिममा विभाजन गरेर सीमा निर्धारण गरेको छ । २ करोडसम्म चालु पुँजी कर्जा चाहने फर्मरसंस्थारकम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्दा अनुमानित वार्षिक कारोबारको अवस्था हेरि अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र लगानी गर्न राष्ट्र बैंकले निर्देशन गरेको छ ।
यद्यपि, इजाजतप्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भसेसन साइकल, डेज् सेल आवट स्ट्यान्डिङ लगायतको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखिएमा वार्षिक कारोबारको अधिकतम ४० प्रतिशतसम्म कर्जा लगानी गर्न सकिने बैंकले जनाएको छ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनेछ ।
यस्तै, २ करोड भन्दा बढी कर्जा प्रवाह गर्नुपर्दा बैंक तथा वित्तीय संस्थाहरुले कम्पनीको पर्मानेन्ट वर्किङ क्यापिटलको आवश्यकता र फ्लक्सिङ वर्किङ क्यापिटलको आवश्यकता समेत हेरी २५ प्रतिशतसम्म लगानी गर्न सक्ने जनाएको छ । यस्तो कर्जाको अवधि पनि १ वर्ष वा सोभन्दा कम समय हुनुपर्ने बैंकले जनाएको छ । तर, पर्मानेन्ट वर्किङ क्यापिटलको आवश्यकताको लागि भने बैंक तथा वित्तीय संस्थाहरुले ५ वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो व्यवस्था बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने चालु पुँजी प्रकृतिका कर्जाको सीमा निर्धारण तथा अनुगमन प्रक्रिया संस्थापिच्छे फरक फरक हुँदा विविधता मात्र नभई चालु पुँजी कर्जाको लागि ऋणीको क्षमताको विश्लेषण त्रुटीपूर्ण र कमजोर हुने गरेको र निरीक्षण तथा सुपरिवेक्षणमा समेत कठिनाइ भएको सुधारका लागि गरिएको राष्ट्र बैंकले जनाएको छ ।