काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले १७ व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको जानकारी दिए । उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु गरिएको छ ।
सरकारले गत साउनमा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिक अपिल गरेको थियो । सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उजुरी गर्ने पीडित र पीडकको नाम गोप्य राखिएको छ।
मिटरब्याजीले पीडितसँग रकम लिनुअगावै खाली चेक हस्ताक्षर गरेर लिएकाले केही पीडितलाई चेक अनादर मुद्दामा कारागारसमेत पठाएको घटना सार्वजनिक भएका छन् । मिटरब्याज लिनेमा सहकारी संस्था पनि रहेका छन् ।
केही सहकारीका प्रबन्धक र सञ्चालकविरुद्ध पनि कार्यालयमा उजुरी दर्ता भएको जनाइएको छ।