काभ्रे : जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कारबाहीमा परेका जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने निश्चित भएको छ । भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठका अनुसार नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने भएको छ ।
दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ नाम राखिएको बताइएको छ ।
सो नाम निर्वाचन आयोगमा समेत पठाइसकिएको र आयोग पनि सो नामप्रति सकारात्मक रहेको भट्टराई पक्षका नेताहरूको भनाई छ । यता पार्टीका नेता प्रशान्त सिंहले भने पार्टी गठनबारे अहिले कुनै कुरा टुङ्गो नलागेको बताउँदै आफूहरू छलफलकै क्रममा रहेको बताए ।
नयाँ पार्टीको नाम टुङ्गो लागे पनि सो पार्टीको अध्यक्ष पदको बारे भने अझै अन्योल रहेको बुझिएका छन् । डा.बाबुराम भट्टराईले कार्यकारी भूमिकामा नरहने भनिसकेपछि अध्यक्ष को रहने बारे पनि पार्टीमा छलफल चलिरहेको छ । बाबुरामले आफू कार्यकारी अध्यक्षमा नबस्ने संघीय परिषद् वा त्यस्तै कुनै पद सृजना गरेर अभिभावकको भूमिकामा रहने बताएपछि पार्टीमा अध्यक्षको खोजी सुरु भएको हो ।
अध्यक्षको टुङ्गो नलागेका कारण नयाँ पार्टीको लागि कार्यसमिति बनाउन ढिलो भइरहेको छ । बाबुराम पक्षका एक नेताले भने, ‘पार्टीमा अध्यक्ष को रहने र पदाधिकारी कतिजनाको बनाउने टुङ्गो लागेको छैन ।’
भट्टराईले नयाँ पार्टीमा तीनजना अध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । एकजना खस आर्य, अर्को जनजाति र तेस्रो मधेसीबाट अध्यक्ष राख्ने प्रस्ताव उनको रहेको छ ।
मधेसीबाट महेन्द्र राय यादव वा राजकिशोर यादवमध्ये एक जना राख्ने, जनजातिबाट हिसिला यमि वा गङ्गा श्रेष्ठमध्येबाट एक जना राख्ने विषयमा छलफल भइरहेको छ । खस आर्यको बारेमा अझै टुङ्गो नलागेको ती नेताले बताए ।