काठमाडौं : संभवतः पहिलो बैठकबाटै घेराबन्दीमा पर्छु र कार्यसमिति बैठक नै बसाउन नसक्ने अवस्था सिर्जना हुन्छ भन्ने थाहा पाएको भए पंकजविक्रम नेम्बाङले पहिले नै यसको कुनै विकल्प खोज्थे होला। हुन पनि ६ असारमा अध्यक्ष पदमा विजयी हुँदाको मुस्कान उनको अनुहारबाट हराएको पहिलो कार्यसमिति बैठकबाटै हो।
त्यसयता उनको तनाव यस्तरी बढेको छ कि उनको स्वास्थ्य अवस्थाकै कारण २ साउनका लागि तय भएको बैठक स्थगित गर्नु परेको थियो। उच्च रक्तचापका कारण अस्पतालमा नै भर्ना भएका नेम्बाङको स्वास्थ्यमा त केही सुधार भयो तर नेपाली फुटबलको स्वास्थ्य भने दिनप्रतिदिन खराब हुने दिशामा अघि बढेको छ।
पहिलो बैठकलाई बधाई तथा शुभकामना साटासाटको औपचारिकता रहने बनाउनु पर्ने भए पनि उनले बहुमत विरोधी पक्ष छल्न पहिलो बैठकमा नै महत्त्वपूर्ण निर्णयहरु लिए। त्यसका पछाडि उनलाई स्पष्ट रुपमा भावी बाटो मुस्किल छ भन्ने लागेर नै हो।
तर उनले यति अप्ठ्यारो होला भन्ने सायदै सोचेका थिए‚ जति अहिले भइरहेको छ। नेम्बाङले पहिलो बैठकमा महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा नविन पाँडेलाई नियुक्त गर्दै आफ्नो पक्षधरता केही बलियो बनाउने प्रयास गरे।
तर अध्यक्ष नेम्बाङले चालेको त्यही कदम नै उनलाई अध्यक्षमा जिताउने गणेश थापा पक्षधरहरूका लागि विरोधको बहाना मात्र बनेन्‚ नेम्बाङलाई घेराबन्दी गर्ने हतियार नै बन्यो।
अहिले थापा पक्षधर विदेश विभागको मनोनयनमा परेका पाँडेलाई हटाउनुपर्ने र बाँकी मनोनयन आफूले भनेअनुसार हुनुपर्ने अड्डी कसेर बसेका छन्। यसको अर्थ अब नेम्बाङले झुक्नुबाहेक अर्को कुनै विकल्प छैन। उनीसँग अब थापालाई मनाएर कम आलोचनात्मक निर्णय गराउनु चुनौतिपूर्ण हुनेछ।
मुख्य रुपमा आफ्नो समूहमा मात्र हैन, कार्यसमितिमै बहुमत गुमाएका नेम्बाङलाई अब यो ‘चक्रब्यूह’ बाट बाहिर निस्कनका लागि विकल्प त्यति सहज छैन। त्यही भएर उनले बिहीबारको बैठकको बीचबाटै छाडेर हिंड्ने निर्णय लिए तर यो विकल्प भने होइन।