काठमाडौँ : नेकपा एमालेकी सांसद नविना लामाले प्रतिनिधिसभा बैठकमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्व विद्यार्थी नेता समेत रहेकी सांसद लामाले १ मिनेट बोलेको भिडियोमा तीन चार ठाउँमा शब्द चिप्लिएपछि मजाक उडाउँदै शेयर गरिरहेका छन् ।
खास भएको के थियो ?
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद लामाले स्वास्थ्य समस्या जस्तो गम्भीर विषय सदनमा उठाएकी थिइन् । उनले गंगालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएको विषय सदनमा उठाएकी थिइन् ।
तर कागज हेर्दै लिखित रुपमा आफ्नो धारणा राखेकी लामाले पटक पटक शल्यक्रियाको सहि उच्चारण गर्न सकिनन् । उनले लिखित रुपमा पढेको भाषण बच्चाले पाठ पढेको जस्तो देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् ।
उनले अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया रोकिएको छ भन्नुपर्नेमा अक्सीमिटरको अभावमा मुटुको सलानकिरा रोकिएको छ भन्न पुगेकी थिइन् ।
सामाजिक सञ्जालमा लामाले बोलेको भिडियो क्लिप राख्दै अनुराग साहले लेखेका छन्– ‘अनेरास्ववियुको अध्यक्ष हुँदै संघीय सांसद बनेकी सांसद नविना लामाको यो अवस्था हेर्दा दया लाग्यो । लेखेको कुरा राम्रोसँग पढन नजान्ने हरुले देशको निति नियम चाहि कसरी राम्रो सँग लेख्लान् ?’
यस्तै इञ्जिनीयर राजदाश श्रेष्ठले लामाको भिडियो शेयर गर्दै लेखेका छन्– ‘ धन्य हाम्रो सुन्दर भविष्य १११ हाम्रा ठुल्ठूला गौरवशाली राष्ट्रिय पार्टीका दोस्रा र तेस्रा पुस्ताका होनहार युवा नेताहरु जो भोली प्रधानमन्त्री र राष्ट्रपति बन्ने पर्खाईमा छन् ।’
सांसद लामाको प्रतिक्रियाः नेपाली टोनमा कमजोर छु, शब्द बिग्रिएकै हो
सांसद नविना लामाले १ मिनेटमा धेरै कुरा बोल्न हतार गरेका कारण र आफू नेपाली टोनमा कमजोर भएका कारण शब्दमा चिप्लिएको बताएकी छिन् ।
सांसद लामाले भनिन्– ‘अरुबेला पनि कहिलेकाँही मेरो शब्दमा मिस्टेक हुन्छ तर मैले उठाएको मुद्धा त सहि छ नी । मैले आफैले लेखेको कुरा हो, १ मिनेटभित्र सबै कुरा भनि सकाउनुपर्ने थियो, हतार गर्दा त्यस्तो भएको हो । १ मिनेटमा सबै कुरा छिटो भन्ने कला पनि सिकिएन । मेरो अरुबेला पनि केही शब्द बिग्रिन्छ किनभने म नेपाली टोनमा कमजोर पनि छु ।’
उनले आफूले शल्यक्रिया शब्द उच्चारण गर्दा बिग्रने गरेको बताउँदै सो शब्दको सट्टा अप्रेशन भनेको भए शुद्ध हुने थियो भन्ने कुरा उल्लेख गरिन् ।