काभ्रे : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)को विवाद मिलाउन तीन विकल्प तयार भएको छ । तीन पूर्व अखिल क्रान्तिकारीका अध्यक्षको सम्मिलित समितिले विवाद मिलाउन तीन विकल्प बनाएर प्रतिवेदन तयार पारेको हो ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पंन्चा सिंह र अर्का विद्रोही पक्षका संयोजक पवन कार्कीसँग भेटेर छलफल गरेपनि समाधानको बाटो निकाल्न नसकिएको समितिका एक सदस्यले बताए ।
उनले विवादका सजिलै विवाद हल हुने अवस्था नदेखिएको बताए । ति सदस्यले भने, ‘त्यस्तो अवस्थामा तीन विकल्पमा विवाद समाधान हुनेगरी बिहीबार पार्टीलाई प्रतिवेदन बुझाउँछौ ।’
यस्तो छ तीन विकल्प
अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष एवम् पोलिटब्युरो सदस्य रमेश मल्ल सहित केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, रत्न ढकालसहितको तीन सदस्यीय समितिले विवाद समाधान गर्ने तीन विकल्प तयार गरेका छन् ।
पहिलो विकल्पको रुपमा सिंह नेतृत्वले कार्की नेतृत्वको संयोजकलाई कारवाही फिर्ता लिनुपर्ने छ भने कार्की नेतृत्वले आफ्नो गतिविधि बन्द गरेर दुबै पक्ष एक ठाउँमा समाधानको बाटो निकाल्ने भनिएको छ ।
यस्तै दोस्रो विकल्पको रुपमा कार्की नेतृत्वको गतिविधि बन्द गरेर उनलाई पार्टीमा उचित व्यवस्थापन गरेर निकास निकाल्ने भनिएको छ ।
अन्तिम विकल्पको रुपमा विशेष राष्ट्रिय सम्मेलन गरी नयाँ नेतृत्वको प्रक्रियामा जाने सुझाव तयार गरिएको छ ।
अखिल क्रान्तिकारीको विवाद समयमै विवाद नमिलाए पार्टीलाई धेरै ठुलो क्षति हुने समितिको ठहर छ ।
अध्यक्ष सिंहले कमिटीलाई पूर्णता दिए लगत्तै कार्कीले समानान्तर कमिटी बनाएपछि विद्यार्थीको विवाद पार्टीलाई समेत टाउको दुखाई भएको हो । विद्यार्थी संगठनका नेताहरुले चुनावी प्रतिस्पर्धाबाट नेतृत्वमा आउँन पाउनुपर्ने माग राखेका थिए । अन्तिममा पार्टी अध्यक्षले चुनावी प्रतिस्पर्धामा जान नदिएपछि विवाद चुलिएको हो ।