काठमाडौँः पर्वतमा एक छोरा आमाको काल बनेर निस्किएका छन् । उनले आमाको हत्य गर्न आफ्नै साथीलाई १ लाख रूपैयाँ दिने लालच समेत दिए । उनले घरजग्गा बेच्न अनेकौं पटक प्रयास गर्दा पनि आमाले नबेच्ने भनेर मान्दै नमानेपछि यस्तो अपराधीक मानसिकता लिएर आमाको हत्या गर्न लागेका हुन् ।
यो घटना कास्कीको पोखरा महानगरपालिका–१२ शीतलादेवीको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार गत चैत ४ गते बिहान शीतलादेवीस्थित सुकुम्वासी बस्तीमा ६७ वर्षीया नौमाया नेपालीको मृत्यु भएको सूचना प्रहरीमा आयो । प्रहरीलाई सूचना दिनेले उनी घरको कोठाभित्रै मृत अवस्थामा फेला परेको बताए । प्रहरीलाई मृत्युको सूचना फोनबाट दिने व्यक्ति मृतक नेपालीका जेठा छोरा ओमबहादुर थिए ।
तत्कालै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली नेपालीको घर गयो । प्रहरीले शवको अध्ययन गर्दा घाँटीमा थिचेको जस्तो डाम परेको तथा अनुहारमा समेत आलो घाउ देखिएकाले मृत्यु स्वाभाविक÷प्राकृतिक नभएर कर्तव्यबाट हुनसक्ने अनुमान लगायो ।
वृद्धाको हत्या भएको हुनसक्ने आँकलन गरेको प्रहरीले सूचना दिनेहरूसहित शङ्काको घेरामा रहेकाहरूमाथि अनुसन्धान थाल्यो । त्यो क्रममा प्रहरीले के थाहा पायो भने नौमायाका जेठा छोरा ओमबहादुरले घरजग्गा बेच्न आमालाई फकाउने धेरैपल्ट प्रयास गरे । तर आमाले बेच्न मान्दै मानिनन् । यसपछि उनले घरजग्गा बिक्रीमा तगारो बनेकी आमालाई सिध्याउने विचार पलायो ।
प्रहरीको अनुसन्धानअनुसार ओमबहादुरले आमालाई मार्न हत्याराको खोजी गरे । यसका लागि उनले आफ्ना साथी कुमार गुरुङसामु आमा मार्ने प्रस्ताव राखे। उनले गुरुङलाई आमा नौमायाको हत्या गरे १ लाख दिने लालच दिए। १ लाखको लोभमा कुमार पनि नौमायाको हत्या गर्न तयार भए।
नौमायाको हत्याको तयारीस्वरूप चैत ३ गते राति अबेरसम्म दुवै जनाले धोक्नुसम्म रक्सी धोके। ओमबहादुरले आफू बाहिर बस्ने र त्यही वेलामा आफ्नी आमालाई मार्ने भनी ढोकाको आग्लो आफैँले खोलेर कुमारलाई कोठाभित्र पठाए। १ लाख कमाउने सपना देखेका कुमारले मस्त निद्रामा रहेकी नौमायाको घाँटी थिचेर हत्या गरे।
हत्यापछि दुवैजना ओमबहादुरको घरबाट निस्केर कुमारको कोठामा गएर सुते। भोलिपल्ट ४ गते बिहान ओमबहादुर आफ्नो घर फर्किए अनि आफू नभएको वेला कोठामा आमा मृत फेला परेको भन्दै कास्की प्रहरीमा फोन गरेर सूचना दिए।
प्रहरीले घटना शङ्कास्पद देखेपछि नौमायाका जेठा छोरा ३६ वर्षिय ओमबहादुर र हाल पोखरा महानगरपालिका–१२ माटेपानी बस्दै आएका कास्कीकै मादी गाउँपालिका–५ का ३७ वर्षिय कुमारलाई पक्राउ गरेको थियो। उनीहरूले बयानको क्रममा चैत ३ गते राति साढे १० बजेपछि नौमायाको हत्या गरेको साबिती बयान दिएका छन्।
शवको अवस्था शंकास्पद देखिएपछि अनुसन्धान थालेको प्रहरीलाई ओमबहादुर र कुमार पक्राउ गर्न नौमायाका अर्का छोराले सहज बनाएका थिए। नौमायाका अर्का छोरा ३२ वर्षिय टेकबहादुर नेपालीको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
डिएसपी तिवारीका अनुसार उनीहरूविरुद्ध फौजदारी अपराध संहिता, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरको दफा १७७ अन्तर्गत कारबाही प्रक्रिया शुरु गरिएको छ। अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट चैत ५ गते पहिलो पटक ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।
थाहाखबरबाट