काभ्रेः धार्मिक आस्थाको केन्द्र पनौती त्रिवेणीघाटस्थित १२ वर्षमा लाग्ने ऐतिहासिक १२ वर्षे मकर मेलामा स्नान गर्नेको घुइँचो बढ्न थालेको छ ।
पनौती नगरपालिका–६ र ७ को संगमस्थल पनौती त्रिवेणीघाट क्षेत्रमा सञ्चालन भइरहेको मकर स्नानको समय तीन दिनमात्रै बाँकी रहँदा मकर स्नान गर्न आउने दर्शनार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।
सो क्षेत्रमा १२ वर्षे मकर स्नान अवधिभर दिवंगत आत्माको सम्झनामा श्राद्ध गर्नले आत्मा शान्ति मिल्ने जनविश्वासका साथ त्रिवेणी घाटको पूर्वपट्टि रहेको रोशीखोला किनारमा श्रद्धालुहरूको उत्तिकै भीड रहेको छ ।
करिब एक सातादेखि बढ्दै गएको घुइँचोका कारण पनौतीस्थित त्रिवेणीघाट क्षेत्र र गोरखनाथडाँडामा मानिसको चहलपहल निकै बढेको छ । कोरोना जोखिमका कारण सुरु सुरुमा न्यून सहभागिता रहेको मकर स्नानमा माघ १५ यता दैनिक हजारौँ भक्तजन पनौती आउने गरेका मकर मेला मूल आयोजक समितिले जनाएको छ ।
पनौती–७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले पछिल्लो समयमा भक्तजनको सहभागितामा उल्लेख्य वृद्धि हुँदै गएको बताए । कोरोना संक्रमणदर घट्दै गएको कारण पनि भक्तजनको सहभागितामा वृद्धि हुँदै गएको बताए । उनले स्नानका लागि आवश्यक व्यवस्थापनमा आयोजकले देखाएको सक्रियताका कारण पनि दर्शनार्थीले सहज महसुस गरेर स्नान गर्न पाएको बताए ।
“केही दिन अगाडि पानी परेर खोलामा बाढी आएको कारण स्नान कुण्ड धमिलो भएर समस्या देखिए पनि त्यसलाई अहिले पूर्णरूपमा सफा गरेर स्नान गर्न सहज बनाइसकेका छौँ,” उनले भने, “१२ वर्षमा लाग्ने मकर मेलाको स्नान गर्ने समय केही मात्रै बाँकी रहेकाले त्रिवेणीघाटमा आएर स्नान गरी पुण्य कमाउन हामी सम्पूर्ण भक्तजनमा आग्रह गर्दछौँ ।”
त्यस्तै‚ वडा नम्बर ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले सुरुको दिनमा भन्दा १५ गतेयता दर्शनार्थीको सहभागिता अत्यधिक बढेसँगै स्वयंसेवक, प्रहरीको मात्रा बढाएको र सकेसम्म स्वास्थ्य मापदण्ड पालना गरी स्नानको व्यवस्था मिलाइएको बताए ।
मेलामा भक्तजनको चाप बढ्दै गएपछि सुरक्षा सतर्कता पनि बढाइएको छ । नेपाल प्रहरी‚ सशस्त्र प्रहरी, नगरपालिकाले स्वयंसेवकहरु पनि ठूलो मात्रामा खटाइएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार मेला भर्न आउने भक्तजनलाई स्वास्थ्य मापदण्ड पालना गरी स्नान गर्न र सहभागी दर्शनार्थीहरुलाई आफ्नो सामानको सुरक्षामा ध्यान दिन माइकिङलगायतका काम गरिरहेको बताए ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चेका रामहरि सिलवालले आफ्ना बुवाआमालाई काभ्रेपलाञ्चोकको पनौती त्रिवेणीघाटस्थित १२ वर्षे मकर मेलामा स्नान गराए । १२ वर्षमा एकपटक लाग्ने मेलामा स्नान गर्दा मनोकांक्षा पूरा हुने र पुण्य मिल्ने जनविश्वास रहेकाले स्नान गर्न ल्याएको उनले बताए ।
सोही ठाउँका अर्का मानबहादुर सिलवालले धर्म गरेर केही मिल्छ कि भन्ने मनोकांक्षासाथ मकर स्नान गर्न आएको बताए । उनले भने‚ “दहमा डुबुल्की मारेर गरेको स्नानले पक्कै पनि केही मिल्नेछ ।”
कोरोना संक्रमणको जोखिम भए पनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरूपमा पालना गरेरै स्नान गर्न आएको उनको भनाइ छ । उनीहरुसँगै सोही ठाउँका अन्य १२ जनाले मकर स्नान गरेर फर्किएका छन् ।
आयोजकका अनुसार बिदाको दिनमा एक लाख बढी भक्तजन आउने गरेका छन् । मेलाका लागि पनौती जानेको संख्यामा वृद्धि भएसँगै सो बनेपा–पनौती सडकखण्डमा सवारीसाधनको चाप बढ्दै गएको छ। मेला आगामी माघ २९ गतेसम्म चल्नेछ । रासस