काठमाडौंः सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति तोकिसकिएकाले अब अन्तिम मतदाता नामावली प्रकाशनको तयारीमा लाग्ने भएकाले नामावली संकलन स्थगित गरिएको बताए ।
उनले कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत काममा लाग्ने बताए । सरकारले आगामी वैशाख ३० गते एकैपटक स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ ।
प्रवक्ता पौडेलका अनुसार अब चुनावमा भाग लिने दलहरूलाई दल दर्ताको आह्वान गरिने छ । आयोगले दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गर्नेछ । उनले आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको बताए ।
आयोगले स्थानीयतहको निर्वाचनका लागि आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको हो ।
जसको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई माघभित्र आयोगमा पठाउन भनेको छ । स्थानीय तह निर्वाचनका लागि आयोग र सुरक्षा निकयले सरकारसँग ३९ अर्ब रूपैयाँभन्दा बढी रकम मागेका छन् ।
२०७४ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी जेठ ६ गते सकिँदै छ ।