काठमाडौंः आरोहण गुरुकुलको पुनरागमनपछिको पहिलो नाटक ‘पुतलीको घर’ फेरि मञ्चन हुने भएको छ । कोरोनाका कारण मञ्चन हुँदाहुँदै रोकिएको नाटक माघ २८ गतेदेखि फेरि मञ्चन हुने भएको हो ।
जन हेनरिक इब्सनको विश्वचर्चित नाटक ‘अ डल्स हाउस’को नेपाली अनुवाद पुतलीको घर गुरुकुलको सबैभन्दा बढी मञ्चन भएको नाटक हो । यसका अनुवादक तथा निर्देशक सुनील पोखरेल हुन् ।
निर्देशक पोखरेलले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत नाटक फेरि मञ्चन हुने जानकारी दिएका हुन् । नेपाली रंगमञ्चमा कोसेढुंगो मानिने आरोहण गुरुकुल विविध कारणले गर्दा १० वर्षअघि बन्द हुन पुगेको थियो ।
नेपाली फिल्म तथा नाटकका धेरै कलाकार जन्माएको संस्था गुरुकुलले गत महिना औपचारिक रुपमा पुनरागमन गरेको थियो । थापागाउँस्थित कुञ्ज नाटकघरसँग एक वर्षका लागि सम्झौता गरी गुरुकुल फर्किएको थियो ।
नाटक माघ २८ देखि फागुन ७ गतेसम्म फेरि मञ्चन हुनेछ ।