एजेन्सीः सेनेगलले पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि सेनेगल र इजिप्टबीचको फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
पेनाल्टी सुटआउटमा सेनेगल ४–२ गोल अन्तरले विजयी भएको थियो । यसअघि खेलको सातौ मिनेटमा पेनाल्टी मिस गरेका लिभरपुलबाट खेल्ने सेनेगलका स्टार साडियो मानेले पेनाल्टी सुटआउटमा निर्णायक गोल गर्दै जित दिलाएका थिए ।
प्रतियोगितामा साडियो मानेले उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका छन्। यस अफ्रिकन कप अफ नेसन्समा सबैभन्दा धेरै कुल ८ गोल गरेका क्यामरुनका भिनसेन्ट अबोउवाकरले गोल्डेन बुट जितेका छन् । त्यस्तै चेल्सीबाट खेल्ने सेनेगलका गोलकिपर एडोउआर्ड मेन्डीले बेस्ट गोलकिपरको अवार्ड जितेका छन् ।
त्यस्तै १०औ पटक अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको इजिप्ट भने यस पटक उपविजेतामा चित्त बुझाएको छ । इजिप्ट सबैभन्दा धेरै ७ पटक अफ्रिकन च्याम्पियन बनेको छ भने योसहित तीन पटक उपविजेता बनेको छ ।