काभ्रेः नेपाली काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले काँग्रेसलाई नयाँ रक्तसञ्चार गराउन पार्टीभित्र रूपान्तरणको प्रस्ताव प्रस्तुत गरेका छन् । उनले विभिन्न क्षेत्रलाई समेटेर काँग्रेस भित्र रूपान्तरणको नयाँ प्रस्ताव पस्केका हुन् ।
उनले उच्च मनोबल तथा तीव्र वेगमा पार्टीको आन्तरिक जीवनको गति प्रदान गर्नु पर्ने बताए । त्यसका लागि विभिन्न विषयगत क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य प्रणालीलाई समय सान्दर्भिक र जनमैत्री बनाउन काँग्रेसले पार्टी भित्र आन्तरिक रूपान्तरण सुरु गर्न अत्यावश्यक रहेको उनको भनाई छ ।
काँग्रेसभित्र रूपान्तरण आवश्यक ठानेका केन्द्रीय समितिका सदस्यहरूसँग छलफल गरेर उनले ११ वटा विषयमा रूपान्तरणको एजेण्डा प्रस्तुत गरेका छन् । उनले नीति विनाको नेतृत्वको औचित्य नहुने भन्दै काँग्रेसको आन्तरिक रूपान्तरणको लागि ‘भुइँ एजेण्डा’ को रूपमा ती विषयहरू प्रस्तुत गरेको बताए ।
उनले काँग्रेसको आन्तरिक रुपान्तरणको लागि सर्वप्रथम काँग्रेसको विधान अनुसार पार्टी सदस्यताका लागि अनलाइनबाट समेत आवेदन दिन पाउने व्यवस्था गरी सदस्यता वितरणलाई तत्काल खुला गर्नुपर्ने, घरदैलो संवाद, पार्टी प्रवेश र आधारभूत प्रशिक्षणलाई एकीकृत अभियानका रूपमा अघि बढाउनुपर्ने, पार्टी विभागमा रहने व्यक्तिहरू बारे निश्चित मापदण्ड बनाएर उपयुक्त व्यक्ति उपयुक्त स्थानमा रहने गरी विधानतः ६ महिना भित्रै अर्थपूर्ण÷परिणामदायी विभाग गठन गर्न तत्काल गृहकार्य सुरु गर्नुपर्ने जस्ता एजेण्डा प्रस्तुत गरेका छन् ।
टोलदेखि केन्द्रीय समितिसम्मलाई तत्काल पूर्णता दिएर उनीहरूको मासिक बैठक नियमित गराउनुपर्ने र सबै तहको निर्णय कार्यान्वयनको प्रभावकारी अनुगमन समेतको व्यवस्था गर्नुपर्ने, नेपालको परिपेक्षमा प्रजातान्त्रिक समाजवाद÷सामाजिक लोकतन्त्रको सान्दर्भिक परिभाषा र कार्यक्रम तय गर्नुपर्ने, जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने आर्थिक सामाजिक उत्थानका ठोस नीति, योजना र कार्यक्रमहरू निर्धारण गरेर परिणाम देखिने गरी कार्यान्वयनमा जानुपर्ने, भातृ–शुभेच्छुक संस्थाहरूको विधानलाई पार्टी विधान अनुरूप लयबद्ध गराई प्रत्येक वडा तहमा रहेका संस्थाको संरचना निर्माण तत्काल गर्नुपर्ने तथा समयबद्ध अनिवार्य महाधिवेशन गर्न अग्रसर हुनुपर्ने उनको काँग्रेस रूपान्तरणको एजेण्डा रहेको छ ।
त्यस्तै पार्टीभित्र घात–अन्तर्घातको रोग निदानका सन्दर्भमा न्यायपूर्ण मूल्याङ्कन पद्धति र कडा अनुशासन प्रणाली अवलम्बन गर्ने, आसन र भाषणलाई व्यवस्थित र एकरूपता प्रदान गर्न पार्टी भित्रका सदस्यहरूको वरियताक्रम निर्धारण सम्बन्धमा वैज्ञानिक मापदण्ड निर्माण गर्नु र त्यसलाई पार्टीको तल्लो तहसम्म कार्यान्वयन गर्न परिपत्र गर्नुपर्ने उनको रूपान्तरणको एजेण्डा रहेको छ ।
पार्टीको नीति अधिवेशन आयोजनको तयारी तत्काल सुरु गरी त्यहाँबाट पार्टीको नीति, कार्यक्रम पारित गरेर त्यसको जगमा टेकेर आगामी निर्वाचन घोषणा पत्र तयार गर्नुपर्ने, विधान अनुसार पार्टी र संविधान अनुसार सरकार सञ्चालनमा सक्रिय हुनुपर्ने, कानुनी राज्य र सुशासनलाई सुनिश्चित गर्नुपर्ने, चर्चित सबै भ्रष्टाचार काण्ड, सेटींग काण्डको छानबिन गरी दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन तर्फ काँग्रेसको कदम अघि बढ्नु पर्ने र भ्रष्टाचार विरुद्ध सदाचार अभियानको नेतृत्व गरेर काँग्रेसले रूपान्तरणको सुरुवात गर्नुपर्ने उनको एजेण्डामा उल्लेख छ ।