चितवनः चितवनका किसानले दुधको तत्काल मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो । दुधको मूल्यमा प्रतिलिटर १५ देखि २० रूपैयाँसम्म बढाउनुपर्ने उनीहरुको माग छ ।
संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए । सरकारले एक लिटरमा १० रूपैयाँ मूल्य बढाएर किसानलाई सात र डेरी उद्योगीलाई तीन रूपैयाँ दिने तयारी गरेको बताइएको छ ।
उनका अनुसार हाल दुधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने अध्यक्ष न्यौपानेले बताए ।
‘दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर ६३ रूपैयाँ किसानको पर्ने गरेको छ‚’ उनले भने‚ ‘त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ।’ सरकारले तीन वर्षदेखि दुधको मूल्य बढाएको छैन ।
हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन्। यसबाट दैनिक दुई लाख ९० हजार लिटर दुध उत्पादन हुँदै आएको छ । ४३ प्रतिशत दुध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ । संघले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ ।