काभ्रेः जिल्ला अदालत काभ्रेपलाञ्चोकले फरार व्यक्तिको सूचीलाई अद्यावधिक गरेको छ । स्थानीय तहअनुसारका पालिकाहरूमा भएका फरार व्यक्तिको सूची अद्यावधिक गरी तत्काल समात्न प्रहरीलाई अनुरोध गरेको छ । मंसिर मसान्तसम्म ३ सय ९७ जना फरार छन् । एसपी परिवर्तन भएकै दिन ९ वर्षदेखि फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
०२९ साल असार १६ गते तत्कालीन बेखसिम्ले गाविसका रत्न पहरी र ठूली पहरीलाई गर्भपतन गराएको अभियोगमा मुद्दा दर्ता गरिएको थियो । अदालतले दुबै जनालाई १ वर्ष कैदको फैसला सुनाएको पनि हो तर त्यतिबेला गरिएको फैसला अझै कार्यान्वयन भएको छैन । भुम्लु गाउँपालिकाबाट मात्रै ३६ जना फरार छन् ।
भुम्लुकै दावा भन्ने दावा घिसिङ लामा बैंकिङ कसुर मुद्दामा फरार छन् । १ वर्ष कैद सुनाइएका दावाको २०७३ असार २९ गतेको फैसला हो । सोही गाविस–२ कै बेखसिम्लेका दावा तामाङ जबर्जस्ती करणी मुद्दामा बेपत्ता छन् । जिल्लामा पछिल्लो समय बैंकिङ कसुर र चेक अनादरसम्बन्धी मुद्दाका भगौडा धेरै छन् । जबर्जस्ती करणी, सम्वन्ध बिच्छेद, बहुविवाह, लिखत बदर, सवारी ज्यान, अंगभंगसम्वन्धी मुद्दाका फरार धेरै हुन थालेका छन् ।
जिल्लाको खानिखोला गाउँपालिकामा ११ जना फरार छन् । तिनीहरुमाथि सार्वजनिक अपराध, गाली बेइज्जती, कुटपिट र चोरीलगायत अभियोगमा कैद र जरिवाना तोकिएको छ । चौरीदेउराली गाउँपालिकाका २९ जना फरार छन् । २९ मध्ये १३ जना बैंकिङ कसुर अभियोगमा कैद र जरिवना सुनाइएका व्यक्ति छन् ।
तेमाल गाउँपालिकाका ४९ जना फरार छन् । २०५५ सालमा पुनरावेदन अदालत पाटनले फैसला गरेको कुटपिट मुद्दाका नारायणप्रसाद खरेलको सजायँ १ वर्ष ३ महिना १५ दिन कैद र ७ हजार ७ सय ५० छ । मेच्छे गाविस ४ का साहिँला तामाङलाई ज्यान मार्ने अभियोगमा ५ महिना कैद तोकिएको छ ।
सदरमुकाम धुलिखेल नगरपालिकाभित्रकै ८३ जना फरार छन् ।सन्तोष पोखरेल बैंकिङ कसुरमा कैद सुनाइएका ब्यक्ति हुन् तर खुलेआम छन् । उनले ४ लाख ५ हजार जरिवाना र १६ हजार २ सय पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ । धुलिखेलकै रामेश्वर श्रेष्ठ, जनक तिमल्सिना पनि फरार छन् । नमोबुद्ध नगरपालिकाका ४८ व्यक्तिको पत्तो छैन । पनौतीका १ सय ४१ जना फरार छन् ।
सबैभन्दा धेरै फरार पनौतीका छन् । पाँचखालमा ३३ जना फरार छन् । पाँचखाल, मण्डनदेउपुरलगायत क्षेत्रबाट चेलीहरू लगेर बेचविखन गर्ने सरस्वती विश्वकर्मा २०५४ सालदेखि फरार छिन् ।
मानव बेचविखनसम्बन्धी मुद्दामा अदालतले उनलाई १ वर्ष ५ महिना २ दिन कैद सुनाएको थियो । ०५४ साल मंसिर ५ गते सुनाइएको उक्त फैसला अझै कार्यान्वयन हुन सकेको छैन ।
बनेपा नगरपालिकाभित्रका १ सय ११ जना फरार छन् । पनौतीपछि दोस्रो धेरै फरार भएको क्षेत्र बनेपा हो । भारतले नाकाबन्दी लगाएको बेला पम्पमा नक्कली मेसिन जडान गरी उपभोक्ता ठग्ने जनागालस्थित पेट्रोलपम्पका सञ्चालक पार्वती बिष्ट अझै फरार छिन् । उनलाई अदालतले ४ महिना कैद र ५ हजार जरिवाना सुनाएको थियो ।
बनेपाका सागर भैल २०७५ साल मंसिर ३ गते भ्रष्टाचारजन्य कसुरमा दोषी ठहर भए । उनलाई कैद र ११ हजार जरिवाना तोकिएको छ । बेथान्चोक गाउँपालिकाका १७ जना फरार छन् । २०४० साल चैत १४ गते साधारण चोरीमा बेथान्चोकका जसमान तामाङलाई १४ दिनको कैद सुनाइएको थियो । त्यतिबेलाको फैसला अझै कार्यान्वयन भएको छैन ।
मण्डनदेउपुर नगरपालिकाका ४७ जना फरार छन् । महादेवस्थान ८ घर भएका भरत सापकोटाले काठमाडौँमा चमुण्डा निर्माण कम्पनी सञ्चालन गरेका थिए । उनको कम्पनीमार्फत गरिएको कारोवारमा बैंकिङ कसुर गरेको अभियोगमा कैद र जरिवाना सुनाइएको छ ।
महाभारत गाउँपालिकाका १७ जना फरार छन् । फोक्सिङटार– ३ घर भएका दावा तामाङलाई मानव बेचविखन तथा ओसारपसार अभियोगमा ११ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको छ ।
०७० जेठ १४ गतेको फैसला कार्यान्वयन भएको छैन । उक्त मुद्दामा सोही ठेगानाका ज्वाला भनिने रविलाल तामाङ पनि फरार छन् । रोशी गाउँपालिकाका ६० जना फरार छन् । भीमखोरी–८ का गुणराज लामाले वैदेशिक रोजगारका क्रममा ठगी गरेका थिए ।
०७४ भदौ ८ गते वैदेशिक रोजगार न्यायाधीकरणले उनलाई कैद सुनाएको थियो । त्यस्तै, रोशीकै मंगलटार–८ का शम्भु थापाले ठगी गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले ०५९ पुस ८ गते ५ वर्ष कैद र ५ लाख ४७ हजार ५ सय जरिवाना सुनाएको थियो ।
जनआस्था/मोतीराम तिमल्सिना