पनौती, काभ्रे: जिल्लाको पनौती नगरपालिका–७ स्थित् त्रिवेणीघाटमा नवनिर्मित शाक्यमुनि बुद्धको ह्राप्ने (प्राण प्रतिष्ठा) हुँदै छ ।
‘कुशल कर्ममा लगाउन मन, अलमलिएकालाई मार्गदर्शन, गुरु, बुद्ध, धर्म र संघको सम्मान, पनौती पर्यटन प्रवद्र्धन’ भन्ने उद्देश्यका साथ पनौतीको त्रिवेणीघाट नजिकै ढुङगाको चट्टानमा खोपिएको शाक्यमुनि बुद्ध मुर्तिको प्राण सोमबार अर्थात् माघ १७ ह्राप्ने गर्न लागिएको हो ।
शाक्यमुनि बुद्ध मुर्ति निर्माण समितिका संयोजक तथा लगानीकर्ता मध्येका एक हिरामाया घिसिङले ह्राप्ने लामा पेमाग्याछोबाट हुने बताउँदै मुर्तिको बाँकी रहेको सिँढि, बार, बाघको मुर्ति र कलर खुलाउने काम पनि सम्पन्न भएको जानकारी दिईन् ।
उनले भनिन्, ‘संघीय राजधानी काठमाडौँबाट ३२ कि.मि.को दुरीमा रहेको पनौती नगर एक ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल भएको हुँदा अझ थप पर्यटकीय क्षेत्र बनाउनु समस्त पनौतीबासीको कर्तव्य हो ।’
त्यस्तै समितिका संयोजक घिसिङले रिन्पोछेबाट भव्य रुपमा चाहना हुँदाहुँदै कोरोना भाइरसको कारण धेरै जना भेला हुन नपाइने गरी स्थानीय प्रशासनद्धारा जारी सुचनालाई पालन गर्दै ह्राप्ने गर्न लागिएको बताइन् ।
उनले बुद्ध मुर्ति निर्माणमा ७० हजार भन्दा बढी रकम खर्च भइसकेको जानकारी दिइन् । उनका अनुसार व्यक्तिगत खर्चमा निमार्ण भएको बुद्ध मुर्तिको खर्चबारे यकिन विवरण आउन बाँकी रहेको छ । समितिले बुद्धको मुर्ति सात फिट आग्लो रहेको जनाएको छ ।
उनले बुद्ध मुर्ति चित्रकार तथा थाङ्का खाइपा उत्तरमान घिसिङले बनाएको बताइन् । ‘चित्रकार तथा थाङ्का खाइपा उत्तरमान घिसिङले आधा कामको मात्र पारिश्रमिक लिने गरी बुद्ध मुर्ति बनाइएको हो’ उनले भनिन्, ‘मुर्ति निर्माणको लागि ठुली दिदी लोककुमारी घिसिङरको छोरा अर्थमान थिङ र मेरो आफ्नै लगानी रहेको छ ।’
समितिले समाजिक दुरी कायम गरी गर्न लागिएको शाक्यमुनि बुद्ध मार्गस्थानको प्राण प्रतिष्ठा कार्यक्रममा प्रसाद ग्रहणका लागि आउनु हुनेलाई मास्क प्रयोग गरेर मात्र प्रवेश गर्न समेत अनुरोध गरेको छ ।